स्ट्यागद्वारा पदक विजेता निश्चल थापा र सुरम्या शाक्य सम्मानित
काठमाण्डौ ५ गते
काठमाडौं, बैशाख ५ — स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली स्तरको प्रतियोगितामा पदक जित्ने आफ्ना खेलाडीहरूलाई सम्मान गरेको छ। शनिबार आयोजित कार्यक्रममा निश्चल थापा र सुरम्या शाक्यलाई नगद, स्मार्ट वाच तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो।
उनीहरूले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
सम्मान कार्यक्रममा गोवर्धन श्रेष्ठ, सुमन खड्गी तथा शंकर गौतमलगायतले खेलाडीहरूलाई सम्मान प्रदान गरेका थिए। सो अवसरमा प्रशिक्षक राकेश महर्जनलाई पनि सम्मान गरिएको थियो। साथै प्रायोजक संस्थाका तर्फबाट निम जोशीलाई पनि कदर गरिएको थियो।
भारतको सिमलामा अप्रिल ८ देखि ११ सम्म सम्पन्न प्रतियोगितामा नेपालले यु–१५ महिला तथा पुरुष र यु–१९ महिला डबल्सतर्फ प्रतिस्पर्धा गरेको थियो। प्रतियोगितामा नेपालले कुल तीन रजत र कास्य पदक जित्न सफल भएको थियो।
प्रतियोगितामा निश्चल थापाले यु–१५ ब्वाइज डबल्समा रजत तथा टिम इभेन्टमा कास्य पदक जितेका थिए। त्यस्तै सुरम्या शाक्यले यु–१५ गर्ल्स डबल्समा रजत र टिम इभेन्टमा कास्य पदक हात पारेकी थिइन्।
उक्त प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका खेलाडीहरूको सहभागिता रहेको थियो।
स्ट्याग च्याम्पियन्स एकेडेमी लगातार नौ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन रहेकी नविता श्रेष्ठ र प्रशिक्षक महर्जनद्वारा स्थापना गरिएको हो। एकेडेमीले पछिल्लो समय नेपाली टेबलटेनिसमा नयाँ प्रतिभा उत्पादन गर्दै उल्लेखनीय योगदान दिँदै आएको छ।


