गोरखा आइडियल र राप्ती साउदर्न डोजोका खेलाडीको जुनियर अपग्रेडिङ सम्पन्न
दाङ, राप्ती — २०८३ भदौ २ गते, मंगलबार।
सितोरियो कराँतेअन्तर्गत गोरखा आइडियल डोजो लालमटिया र राप्ती साउदर्न डोजो गढवाका खेलाडीहरूको जुनियर अपग्रेडिङ तथा ब्ल्याक बेल्ट दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ।

२०८३ भदौ १ गते आयोजित कार्यक्रममा दुवै डोजोका ५४ जना खेलाडीले जुनियर बेल्ट प्राप्त गरेका थिए भने १३ जना खेलाडीलाई ब्ल्याक बेल्ट दीक्षान्त गरिएको थियो। कार्यक्रममा ब्ल्याक बेल्टसँगै खेलाडीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
मनिषा सेनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सितोरियो कराँतेका दाङ जिल्ला सचिव मधुसुदन घर्ती मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। गोरखा आइडियल स्कुल लालमटियाका माध्यमिक तह संयोजक देवबहादुर बुढामगर विशिष्ट अतिथि हुनुहुन्थ्यो भने अभिभावक तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको थियो। बेस्ट छात्रतर्फ आरम्भ रोकाया र बेस्ट छात्रातर्फ प्रिन्सा थापालाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मधुसुदन घर्ती मगरले खेलाडीहरूको मेहनत र उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ कडा मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले मेहनतसँगै अनुशासनलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउनुभयो।

उहाँले खेलाडीहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईंहरूले सबैले राम्रो गर्नुभएको छ। यसभन्दा अझ कडा मेहनत गर्दै जानुहोस्। आफू त चिनिने भइहाल्नुहुन्छ, देशलाई पनि चिनाउने मौका आउन सक्छ। त्यसका लागि मेहनत नै मुख्य कुरा हो र त्यसमा अनुशासन पनि त्यत्तिकै आवश्यक पर्छ।”

जुनियर अपग्रेडिङ तथा ब्ल्याक बेल्ट दीक्षान्त कार्यक्रमले खेलाडीहरूलाई आगामी दिनमा थप मेहनत र अनुशासनका साथ खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।


