सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका शेरफन रदरफोर्ड अनुबन्धित

काठमाडौं २०८३ कार्तिक ७

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ। रदरफोर्डको आगमनसँगै टोलीको मध्यक्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।

२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। ब्याटिङसँगै मध्यम गतिमा बलिङ गर्न सक्ने उनी आवश्यकताअनुसार तीव्र गतिमा रन बनाउन सक्षम खेलाडी हुन्।

रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय अन्तर्राष्ट्रिय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीयमा ८७३ तथा टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन बनाएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च व्यक्तिगत स्कोर ८४ रन हो।

सबैखाले टी–२० क्रिकेटमा २८३ खेल खेलेका रदरफोर्डले ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन् भने उनको ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ।

फ्रेन्चाइज क्रिकेटमा समेत राम्रो अनुभव बटुलेका रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेटमा सहभागिता जनाइसकेका छन्।

उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएलको उपाधि जित्दा टोलीका सदस्य थिए। त्यस्तै, सन् २०२०–२१ मा कराँची किङ्सबाट खेल्दै पीएसएलको उपाधिसमेत जितेका थिए।

आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए। मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग आबद्ध रहँदा उनले उपाधि जित्ने टोलीको हिस्सा बन्ने अवसरसमेत पाएका थिए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डलाई टोलीमा आबद्ध गर्न पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभव र आक्रामक ब्याटिङले टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

खड्काका अनुसार रदरफोर्डको ब्याटिङ क्षमता र अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको अनुभव एनपीएलमा टोलीका लागि उपयोगी हुनेछ। उनको उपस्थितिले समर्थकलाई समेत उत्साहित बनाउने अपेक्षा गरिएको छ।

रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्। उनले नेपालमा खेल्ने, नेपाली समर्थकसामु आफ्नो क्षमता प्रदर्शन गर्ने र टोलीको सफलतामा योगदान पुर्‍याउने लक्ष्य रहेको बताएका छन्।

एनपीएलको तेस्रो संस्करणमा रदरफोर्डको सहभागिताले सुदूरपश्चिम रोयल्सको ब्याटिङ विकल्प थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ