“स्वास्थ्य नै धन हो” नारासहित ‘मि. काठमाडौँ–२०८३’ शारीरिक सुगठन प्रतियोगिता भव्य तयारीमा
काठमाण्डौ ५ गते
“स्वास्थ्य नै धन हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस क्षेत्रमा एक महत्वपूर्ण राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले राष्ट्रिय स्तरको ‘मि. काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता–२०८३’ आयोजना गर्ने तयारी गरेको हो।
आयोजकका अनुसार आगामी भाद्र १९ र २० गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिनेछ। प्रतियोगितामा मि. काठमाडौँ, मास्टर मि. काठमाडौँ (४० वर्षमाथि), जुनियर मि. काठमाडौँ (२१ वर्षमुनि), पुरुष एथलेटिक फिजिक्स, महिला एथलेटिक फिजिक्स तथा पुरुष स्पोर्ट्स फिजिक्स विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।
शारीरिक सुगठन खेलले शरीरलाई स्वस्थ, सुदृढ र आकर्षक बनाउने मात्र नभई खेलाडीहरूलाई आफ्नो शारीरिक संरचना कलात्मक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ। यस खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको सन्दर्भमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन नयाँ सुधारहरू पनि गरिएको छ।
यस वर्ष मि. काठमाडौँ प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दा माथि गरी ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। अघिल्ला संस्करणमा ७५ केजीसम्म मात्र समूह रहेकोमा यसपटक ८० केजीभन्दा माथिको नयाँ समूह थपिएको छ। महिला एथलेटिक फिजिक्सतर्फ खुला उचाइमा प्रतिस्पर्धा गराइनेछ भने पुरुष स्पोर्ट्स फिजिक्सतर्फ उचाइका आधारमा दुई समूह बनाइनेछ।
जुनियरतर्फ २०८२ चैत मसान्तसम्म २१ वर्ष ननाघेका खेलाडीले सहभागिता जनाउन पाउनेछन् भने मास्टरतर्फ ४० वर्षमाथिका खेलाडीहरू प्रतिस्पर्धामा उत्रनेछन्। प्रत्येक क्लब वा संस्थाबाट अधिकतम २० जना खेलाडी, एक टिम म्यानेजर र एक सहायक सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा पहिलो दिन तौल र उचाइ मापन गरिनेछ भने दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल समूहका उत्कृष्ट पाँच खेलाडीलाई सम्मान गरिनेछ। प्रथम हुनेलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य स्थान प्राप्त गर्ने खेलाडीलाई पनि पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
तौल समूहका विजेताहरूबीच हुने ओभरअल प्रतिस्पर्धाबाट ‘मि. काठमाडौँ’ उपाधि विजेतालाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, पदक र ब्यानेट प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै महिला एथलेटिक फिजिक्सतर्फ ओभरअल विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
मास्टर, जुनियर, पुरुष एथलेटिक फिजिक्स तथा स्पोर्ट्स फिजिक्सतर्फका विजेताहरूलाई पनि आकर्षक नगद पुरस्कारसहित सम्मान गरिनेछ। प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको छ।
२०७३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको यो छैठौं संस्करण हो। आयोजकका अनुसार यसपटक प्रतियोगितालाई अझ परिस्कृत र व्यापक बनाउँदै देशभरिका खेलाडीलाई समेट्ने प्रयास गरिएको छ।
आयोजकले यस प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी उत्पादन भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उँचो राख्ने विश्वास व्यक्त गरेको छ। साथै खेलप्रेमी, सञ्चारमाध्यम र सरोकारवालालाई प्रतियोगिताको प्रचार–प्रसार गरी खेलाडीहरूको मनोबल उच्च बनाउन सहयोग गर्न आग्रह गरिएको छ।


