राजनको ऐतिहासिक पहिलो जित, सन्तोषीको लगातार दोस्रो सफलता — कान्तिपुर हाफ म्याराथनमा कीर्तिमानी सहभागिता
काठमाडौं, बैशाख ५ गते ।
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले १४औं कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन्। पुरुषतर्फ राजनले पहिलोपटक यो प्रतिष्ठित उपाधि हात पार्दा महिलातर्फ सन्तोषीले लगातार दोस्रोपटक जित निकाल्दै आफ्नो दबदबा कायम राखिन्।
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार सम्पन्न प्रतियोगितामा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए। कार्यक्रममा केएमजीका अध्यक्ष कैलाश सिरोहिया, प्रमुख कार्यकारी अधिकृत महेश स्वार तथा प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीको उपस्थिति रहेको थियो।
यस संस्करणमा अहिलेसम्मकै उच्च सहभागिता देखिएको छ। करिब ४ हजार धावकले भाग लिएको प्रतियोगिता तीनकुनेबाट सुरु भई कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि हुँदै जगाती चोकबाट फर्केर पुनः तीनकुनेमै टुंगिएको थियो।
राजनले निर्धारित दूरी १ घन्टा ४ मिनेट ३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। आर्मीका अर्जुन बुढा (१ घन्टा ६ मिनेट ४ सेकेन्ड) दोस्रो र सुशील शाही (१ घन्टा ६ मिनेट ५ सेकेन्ड) तेस्रो भए। शीर्ष स्थानमा आर्मीका खेलाडीहरूको वर्चस्व देखियो।
महिलातर्फ सन्तोषी श्रेष्ठले १ घन्टा १८ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। उनले गत वर्षको आफ्नै समय सुधार्दै उत्कृष्ट प्रदर्शन गरिन्। निशा पाल दोस्रो र पूर्णलक्ष्मी न्यौपाने तेस्रो स्थानमा रहिन्।
हाफ म्याराथनतर्फ विजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा दोस्रोदेखि छैटौं स्थानसम्मका धावकले क्रमशः ७५ हजारदेखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गरे।
यसैगरी प्रतियोगिताअन्तर्गत आयोजित एक्स्ट्रिम कलेज रन (७ किमि) मा अजय पाण्डे र अनुसिया तण्डुकार विजेता बने। कर्पोरेट तथा इन्फ्लुन्सर रन (५ किमि) मा पुकार बस्नेत र कुसुम तामाङले उपाधि जिते भने ह्विलचेयर रेस (३ किमि) मा रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल विजेता बने।
यसपटक प्रतियोगितामा ‘एक्युरेट टाइमिङ’ सुनिश्चित गर्न प्रत्येक धावकलाई चिप्स प्रयोग गरिएको थियो। ग्लोबल आईएमई बैंकको प्रस्तुति तथा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा सम्पन्न प्रतियोगिताले नेपालमा दौड संस्कृतिको विस्तारमा थप ऊर्जा दिएको आयोजकले जनाएको छ।


