महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

काठमाडौं, बैशाख २६

ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

राष्ट्रिय अपांग महिला समाज को आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुल मा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसए तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो ।

डब्ल्यूएसएले लिग चरणमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब लाई ४–२, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल लाई २०–४ तथा बीआईए लाई १७–२ ले पराजित गरेको थियो ।

जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब दुई जित र एक हारसहित ५ अंक जोड्दै उपविजेता बन्यो । उपविजेता टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

तेस्रो स्थानमा रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल (एससिआइएनएन) ले एक जित र दुई हारसहित ४ अंक जोड्दै पाँच हजार रुपैयाँ हात पार्‍यो । बीआईए भने तीनवटै खेलमा पराजित हुँदै चौथो स्थानमा सीमित रह्यो । प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होना ले विजयी टोलीलाई दुई तथा पराजित टोलीलाई एक अंक प्रदान गरिएको जानकारी दिए ।

व्यक्तिगत विधातर्फ हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन् । उनले प्रतियोगिताभर २४ अंक जोडिन् । यस्तै, डब्ल्यूएसएकी ज्योति अर्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । दुवै खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

समापन समारोहमा दलबहादुर कार्की, भीमसिंह गुरुङ तथा देवी आचार्य लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका–३० ले विशेष सहयोग गरेको आयोजकले जनाएको छ ।

यसैबीच बिरुकमल श्रेष्ठ ले स्पाइनल कर्ड इन्जुरी भएका महिला खेलाडीलाई ३० थान डाइपर वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ