शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
कोहलपुर, बैशाख २५ — पूर्ण प्रसाद आचार्य ले शिक्षा र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
शनिबार कोहलपुर मा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि उक्त कार्यक्रमलाई कोहलपुर क्षेत्रका हरेक विद्यालयसम्म विस्तार गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल एपीएफ स्कुल को हलमा आयोजित कार्यक्रममा उनले विद्यालयस्तरमै खेलकुद र ओलम्पिक चेतना विस्तार गर्न आवश्यक बजेटसहित कार्यक्रम सञ्चालन गरिने बताए ।
“प्रस्ताव ल्याउनुहोस्, हरेक विद्यालयका विद्यार्थीमाझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक सहयोग गर्छौं,” मेयर आचार्यले भने, “विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक गतिविधिलाई सम्बोधन गर्न तयार छु । अब एउटा विद्यालयमा सीमित नभई कोहलपुर क्षेत्रका सम्पूर्ण विद्यालय लाभान्वित हुने गरी ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई साझा अभियानका रूपमा विकास गर्नुपर्छ ।”
कार्यक्रममा दीपक बिष्ट ले मेयर आचार्यलाई मायाको चिनो प्रदान गरेका थिए । दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने बिष्ट नेपालका एकमात्र खेलाडी हुन् । उनले एशियाली खेलकुदमा दुई कांस्य पदक जित्नुका साथै ओलम्पिक छनोट चरण पार गर्ने दोस्रो नेपाली खेलाडीको कीर्तिमान समेत बनाएका छन् । हालै उनी वर्ल्ड ओलम्पियन एसोसियसनको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्ष बिष्टले स्कुले विद्यार्थीमा ओलम्पिकसम्म पुग्ने सपना, आशा र आत्मविश्वास जगाउन देशव्यापी अभियान सञ्चालन गरिएको जानकारी दिए ।
यस्तै दीपक श्रेष्ठ ले ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम विद्यार्थीका लागि निकै उपयोगी भएको बताए । कार्यक्रममा ओलम्पियन जुडो खेलाडी देबु थापा तथा उसुकी साग स्वर्ण विजेता जुनु राई ले विद्यार्थीलाई सेल्फ डिफेन्स सम्बन्धी ज्ञान र अभ्यास सिकाएका थिए ।
ओलम्पियन सन्तोषी श्रेष्ठ ले आफ्नो संघर्ष, यात्रा र सफलताका अनुभव सुनाउँदा विद्यार्थी उत्साहित बनेका थिए । ओलम्पियन देबु थापाले पनि विद्यार्थीलाई प्रेरणादायी मन्तव्य दिएकी थिइन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री ले विद्यार्थीलाई प्रेरित गर्ने यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।
यसअघि नेपालगन्ज मा सम्पन्न ‘स्कुल टु ओलम्पिक’ कार्यक्रममा विभिन्न विद्यालयका करिब डेढ सय विद्यार्थीले ओलम्पियनसँग अन्तरक्रिया गरेका थिए । वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त ‘नेपालगन्ज १० म्युजिक नाइट रन’ सँग जोडेर कार्यक्रम भव्य रूपमा आयोजना गरिएको थियो ।
नेपालगन्ज कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल तथा पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा ले पनि आफ्ना अनुभव विद्यार्थीसँग साझा गरेका थिए । कार्यक्रमको संयोजन रेस नेपाल र क्रियटिभ गन्ज मिडिया ले गरेका थिए ।


