एभीएस टिम च्याम्पियन, तेस्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते सम्पन्न

काठमाडौं, वैशाख २७ गते ।
एभीएस तेस्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एभीएसले सर्वाधिक ११ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो ।

पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्ण पदकसहित ब्रिज वाटर इन्टरनेसनल स्कुल दोस्रो स्थानमा रह्यो भने ६ स्वर्ण जित्दै घर सित मुटुले तेस्रो स्थान हासिल गर्‍यो । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सिनामंगलस्थित ब्रिज वाटर इन्टरनेसनल स्कुलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ नुवाकोटका प्रशंम कुम्वर तथा महिलातर्फ काठमाडौंकी रिमाकुमारी चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी पूर्व सदस्य एवं नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष विष्णु थापा तथा ब्रान्च चिफ सन्जु महर्जन लगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।

यसअघि एकदिने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोख्रेल ले गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहेको थियो । पुरुषतर्फ १९ तथा महिलातर्फ १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ