काठमाडौं महानगरपालिका टिम च्याम्पियन बन्दै मेयर कप तेक्वान्दो सम्पन्न
काठमाडौं, वैशाख २६ गते ।
जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालित “स्व. पि.एल. सिंह स्मृति छैटौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता–२०८३” सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा वैशाख २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोह जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापति को सभापतित्व तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका २० नगरपालिकाबाट गेरोगी, पुम्से र पारा विधामा गरी ३ सय २२ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई एग्रो थाइ फुड्स प्रा.लि.का तर्फबाट १ केजी तौलको चाँदीको रनिङ शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक टोली काठमाडौं महानगरपालिका टिम–एले १४ स्वर्ण र ४ रजत पदकसहित प्रथम हुँदै १ केजी चाँदीको रनिङ शिल्ड उचाल्न सफल भयो । त्यस्तै, २ स्वर्ण, ४ रजत र ४ काँस्य पदकसहित महालक्ष्मी नगरपालिका दोस्रो तथा १ स्वर्ण, ३ रजत र ६ काँस्य पदकसहित चन्द्रागिरी नगरपालिका तेस्रो स्थानमा रह्यो ।
प्रतियोगितामा पुरुष पुम्सेतर्फ कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ तथा महिला पुम्सेतर्फ आयोजक काठमाडौं महानगरपालिकाकी वितिशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी पुरुष गेरोगीतर्फ काठमाडौं महानगरपालिकाका गयाल्जेङ तामाङ तथा महिला गेरोगीतर्फ तारकेश्वर नगरपालिकाकी कृतिका थापा मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगितामा काठमाडौं महानगरपालिका टोलीका प्रशिक्षक अन्जित राई उत्कृष्ट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक गौरव रजक उत्कृष्ट निर्णायक घोषित भए । उत्कृष्ट घोषित सबै ६ जनालाई जनही १०० अमेरिकी डलरबाट सम्मान गरिएको आयोजकले जनाएको छ ।


