एसियाली खेलकुदमा सोम कुमालको राष्ट्रिय कीर्तिमान, टेनिसमा नेपाललाई मिश्रित नतिजा

असोज ११, आइची–नागोया, जापान । २०औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्समा नेपालका सोम कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

कुमालले ८०० मिटरको दूरी १ मिनेट ४८.९५ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि कुमालको नाममा १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो।

प्रतियोगिताको पहिलो राउण्डअन्तर्गत पहिलो हिटमा प्रतिस्पर्धा गरेका कुमाल सात खेलाडीमध्ये पाँचौं स्थानमा रहे।

टेनिसमा अभिषेक र प्रदीपको विजयी सुरुवात

टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले पहिलो राउण्डमा मंगोलियाली जोडीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

नेपाली जोडीले प्रतिस्पर्धात्मक खेलमा ६–२, ४–६ र १४–१२ को सेटमा जित हात पारेको हो।

यता महिला एकलतर्फ स्वस्तिका विष्ट जापानी खेलाडीसँग ६–१, ६–१ ले पराजित भइन्।

मिक्स डबल्सको पहिलो राउण्डमा सिवाली गुरुङ र प्रदीप खड्काको जोडी जापानी जोडीसँग ६–०, ६–१ ले पराजित भयो। महिला एकलतर्फ सिवाली गुरुङ पनि पहिलो राउण्डमा कोरियाली खेलाडीसँग पराजित भएकी छन्।

आर्चरीमा नेपाल पराजित

आर्चरीको मिक्स इलिमिनेशनतर्फ नेपालले अपेक्षित नतिजा निकाल्न सकेन। आइतबार भएको खेलमा ज्ञानु अवाले र तिलक पुन मगर सम्मिलित नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) को टोलीसँग ६–२ अंकले पराजित भयो।

यससँगै आर्चरीको उक्त स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ