रङ्गशिङ्ग खोलामा बनेको पक्की पुल मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन
असोज ११, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्नुभएको छ।

आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुल उद्घाटन गर्नुभएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरे, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता रहेको थियो।
पुल उद्घाटनपछि मुख्यमन्त्री आचार्यले पुल निर्माणसँगै वर्षायाममा स्थानीयले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान भएको बताउनुभयो। उहाँले निर्माण भएका पूर्वाधारको संरक्षणमा स्थानीय समुदाय र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको बताउँदै विगतमा विकासका काम नभएको भन्ने धारणा सही नभएको दाबी गर्नुभयो।

त्यस्तै, सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले रङ्गशिङ्ग खोलाको पुल जनप्रतिनिधि र स्थानीयको साझा प्रयासबाट प्राप्त उपलब्धि भएको बताउनुभयो। पुल निर्माणपछि शितगंगाका दुर्गम बस्तीलाई विकासको मूलधारसँग जोड्न थप सहज हुने उहाँको भनाइ छ।
पक्की पुल सञ्चालनमा आएपछि स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य उपचारका लागि अस्पताल पुग्न स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।



