सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल ५ के रन च्यालेन्जमा प्रथम

काठमाडौं, बैशाख २५ — सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले ‘नेपाल ५ के रन च्यालेन्ज’ अन्तर्गत खुला दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । सञ्जय पुरुषतर्फ तथा पूर्णलक्ष्मी महिलातर्फ विजेता बनेका हुन् ।

एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिका को सहयोगमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुष ५ किलोमिटर दौड सञ्जयले १४ मिनेट ३४.७४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । नेपाल आर्मीका मुकेशबहादुर पाल १४ मिनेट ३४.८१ सेकेन्डसहित दोस्रो भए भने गजेन्द्र राई १४ मिनेट ५३.९१ सेकेन्डसहित तेस्रो स्थानमा रहे ।

महिलातर्फ पूर्णलक्ष्मी न्यौपानेले १७ मिनेट ९५ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हात पारिन् । निशा कार्की १८ मिनेट १२.५५ सेकेन्डसहित दोस्रो तथा सम्झना कुलुङ १८ मिनेट ५४.६३ सेकेन्डसहित तेस्रो भइन् । पुरुष र महिला दुवै खुला स्पर्धामा शीर्ष तीन स्थान नेपाल आर्मीका खेलाडीले कब्जा गरेका थिए ।

यु–१८ ब्वाइज ३ किलोमिटर दौडमा सुशन लामिछाने पहिलो, राजकुमार गोले दोस्रो तथा शेरबहादुर शाही तेस्रो भए । यस्तै गल्र्सतर्फ सर्मिलो गोलेले स्वर्ण पदक जित्दा सुजिना राम्दाम दोस्रो र प्रमिशा कार्की तेस्रो भइन् ।

भेट्रान पुरुष ५ किलोमिटर दौडमा धर्म महर्जन पहिलो, रैवतबहादुर दाहाल दोस्रो तथा भीमबहादुर गुरुङ तेस्रो स्थानमा रहे । भेट्रान महिला ३ किलोमिटर स्पर्धामा कल्पना डंगोलले स्वर्ण जितिन् भने सारदा राई दोस्रो र नगिना महर्जन तेस्रो बनिन् । प्रतियोगिताका सबै ६ विधामा शीर्ष १० स्थान प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजेताहरूलाई जीवन खत्री, नगर खेलकुद संयोजक रघु केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्री का अनुसार प्रतियोगितामा कुल २ सय ५० धावकधाविकाको सहभागिता रहेको थियो ।

दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक र सुविधानगर सडक हुँदै पुनः नगरपालिका भवनमा पुगेर समापन भएको थियो ।

नेपाल रनको यो पहिलो चरण अन्तर्गतको प्रतियोगिता हो । खुला पुरुष तथा महिला ५ किलोमिटर दौडमा शीर्ष १५ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १५ देखि १ अंकसम्म प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता दुई–दुई महिनाको अन्तरालमा तीन चरणमा सञ्चालन हुनेछ । तीनै चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता आयोजना गरिने र त्यसमा आकर्षक पुरस्कारको व्यवस्था गरिने जानकारी आयोजकले दिएका छन् ।

Let ChatGPT reference past chats

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ