मनास्लुद्वारा उपाधि रक्षा, चौथो वडा अध्यक्ष कपमा ऐतिहासिक जित
काठमाडौं, बैशाख २२ गते
डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ। मंगलबार चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सम्पन्न फाइनल खेलमा मनास्लुले बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयलाई २–० गोलले पराजित गर्दै लगातार उपाधि जितेको हो।
प्रतिस्पर्धात्मक फाइनल खेलमा मनास्लुका विमल तामाङ र संगम तामाङले समान एक–एक गोल गर्दै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि विमल तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए। उपाधिसँगै मनास्लुले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बाल व्यवसायी केन्द्रले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरू पनि घोषित गरिएका छन्। मनास्लुका संगम तामाङ सर्वोत्कृष्ट खेलाडी, विमल तामाङ उत्कृष्ट खेलाडी घोषित हुँदा बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर बने। त्यस्तै मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक तथा क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित भए। उत्कृष्ट पाँचै खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
विजेता तथा उपविजेता टोलीलाई विराटजंग शाही, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न सेभेन–ए–साइड नकआउट प्रतियोगितामा कुल १९ टोलीको सहभागिता रहेको थियो।


