सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

२०८३ वैशाख २१, काठमाडौं

काठमाडौं । काभ्रेको धुलिखेलमा सम्पन्न सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। वैशाख १६ देखि २० गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पदक जितेर उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।

नेपाल सभात संघको आयोजनामा तथा अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक एवं अफिसियल सहयोगमा सम्पन्न च्याम्पियनसिपमा नेपालले ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जित्दै समग्र टिम च्याम्पियन बन्न सफल भएको संघका अध्यक्ष लक्षमण बस्नेतले जानकारी दिए।

प्रतियोगितामा भारतले १८ स्वर्ण, २७ रजत र २२ कांस्य पदकसहित दोस्रो स्थान हासिल गर्दा इन्डोनेसियाले ३ स्वर्ण, ४ रजत र १ कांस्य पदक जित्दै तेस्रो स्थानमा सीमित रह्यो।

व्यक्तिगततर्फ नेपालकी अमृता तामाङले ‘फेयर प्ले अवार्ड’ प्राप्त गरिन्। त्यस्तै, पुरुषतर्फ उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लो उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ भारतकी वातन्पाई उत्कृष्ट खेलाडी घोषित भइन्।

यसैगरी, हिमालयन अन्तर्राष्ट्रिय खुल्ला सभात च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलुले भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेका थिए।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहता तथा फ्रान्सबाट आएका अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगुले संयुक्त रूपमा गरेका थिए। सो अवसरमा नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रतियोगितामा एसियाका ९ देशका करिब ३०० खेलाडीहरूको सहभागिता रहेको थियो। यद्यपि, अन्तिम समयमा विभिन्न कारणले थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडीहरू सहभागी हुन नसकेको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन समारोह आइतबार राति सम्पन्न भएको थियो। सो अवसरमा विजेता खेलाडीहरूलाई पूर्व राज्यमन्त्री विराज विष्ट, अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगु, नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेत तथा महासचिव सिद्धी व्यन्जनकारलगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

समापन समारोहमा अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष दुइगुले नेपालले सफलतापूर्वक प्रतियोगिता आयोजना गर्दै सहभागी राष्ट्रहरूको विश्वास जितेको उल्लेख गरे। उनले भविष्यमा विश्वस्तरका अन्य प्रतियोगिताहरू आयोजना गर्न नेपाल सक्षम रहेको सन्देश विश्वसामु प्रवाह भएको बताए।

नेपाल सभात संघका अध्यक्ष लक्षमण बस्नेतले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

यसैबीच, आठौं एसियन सभात च्याम्पियनसिप आयोजना गर्न इन्डोनेसियाले प्रस्ताव गरेको जानकारी पनि अध्यक्ष बस्नेतले दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ