ए स्टार नेपाल बास्केटबल लिगमा रोमाञ्चक प्रतिस्पर्धा जारी, हिजोका खेलमा डीबीएससहित प्रमुख टिमको जित

२०८३ वैशाख १९ गते

बेलायतमा जारी ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ अन्तर्गत हिजो सम्पन्न खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन्। एल्डरशट र लन्डनमा सञ्चालन भइरहेको प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थितिका बीच टिमहरूबीच कडा प्रतिस्पर्धा देखिएको हो।

हिजो सम्पन्न खेलमध्ये सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामा डीबीएसले ग्रीनफोर्ड नाइट्सलाई ८४–८२ को झिनो अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। अन्तिम समयसम्म दुवै टिमबीच बराबरीको जस्तो देखिएको खेलमा डीबीएसले उत्कृष्ट संयम प्रदर्शन गर्दै जित सुनिश्चित गरेको थियो।

त्यस्तै, बलर्स स्ल्यामर्सले नर्थोल्ट फ्लेमर्समाथि १०१–८६ को प्रभावशाली जित निकाल्दा ह्याम्पशायर हूपर्सले साउथ आशफोर्ड वुल्भ्सलाई ९७–८० ले हराएको छ। अर्को खेलमा स्यान्डहस्र्ट निक्सले म्याम्बासलाई ८६–५६ ले पराजित गर्दै आफ्नो बलियो उपस्थितिलाई कायम राख्यो भने कोलचेस्टर एलिटले हिमालयन हीटलाई ८६–५२ को फराकिलो अन्तरले हराउँदै अंक तालिकामा दबाब सिर्जना गरेको छ।

प्रतियोगितामा व्यक्तिगत प्रदर्शनतर्फ पनि खेलाडीहरूबीच प्रतिस्पर्धा चुलिएको छ। अलि अदनानले प्रति खेल औसत २८.३ अंकसहित उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। सुदन गुरुङ (२६.३ अंक) र आयुष सिंह (२४.५ अंक) पनि उत्कृष्ट लयमा देखिएका छन्।

अंक तालिकातर्फ ग्रीनफोर्ड नाइट्स, स्यान्डहस्र्ट निक्स र कोलचेस्टर एलिट समान ९ अंकसहित शीर्ष स्थानमा कायम छन्। ह्याम्पशायर हूपर्स ८ अंकका साथ पछ्याइरहेको छ भने डीबीएस, बलर्स स्ल्यामर्स र हिमालयन हीट ७–७ अंकसहित प्रतिस्पर्धामा छन्।

मार्च १५ देखि सुरु भएको यस प्रतियोगिताले युकेस्थित नेपाली समुदायबीच खेलकुदप्रतिको आकर्षण बढाउँदै लगेको छ। आयोजकका अनुसार लिगका आगामी खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ। प्रतियोगिताको फाइनल खेल आगामी जुलाई ४ तारिखमा ब्रुनेल युनिभर्सिटी अफ लन्डनमा आयोजना हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ