नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

काठमाण्डौ, २०८३ वैशाख १९ गते

दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न क्वाटरफाइनल खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै चारै खेलाडीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

नविता श्रेष्ठले आफ्नै विभागकी सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६ र १३–११ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन्। त्यस्तै वियंका राईले भक्तपुरकी दिया देउलामाथि ११–३, ११–९ र ११–९ को सोझो सेटमा जित निकालिन्।

अर्को खेलमा इभाना थापाले दीक्षा दाहाललाई ११–२, ११–४ र ११–२ को सहज सेटमा हराइन् भने योङगी पौडेलले प्रहरीकी रविना महर्जनलाई ११–६, ७–११, ११–९ र १३–११ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्।

अब सेमिफाइनलमा इभाना थापा र योङगी पौडेल आमनेसामने हुनेछन् भने नविता श्रेष्ठले वियंका राईसँग प्रतिस्पर्धा गर्नेछिन्।

ललितपुर महानगरपालिका–११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजित प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहेको छ। विभिन्न ६ विधा समेटिएको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।

ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग तथा स्पिन इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुने कार्यक्रम रहेको छ। प्रतियोगितामा अफिसियल बल पार्टनरका रूपमा यिन्हे डाँफे रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ