प्रणव–आयुशमानको जोडी पुरुष डबल्समा विजेता
काठमाडौँ, वैशाख २० (शनिबार) — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी विजेता बनेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा सम्पन्न फाइनलमा प्रणव–आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सतर्फ सन्तोष खत्री विजेता बने। उनले फाइनलमा जितेन्द्र परियारलाई ६–७, ६–२ र १०–५ ले पराजित गरेका थिए। सोही स्पर्धाको पुरुष डबल्समा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६–० र ६–२ को सोझो सेटमा हराउँदै उपाधि जितेको छ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्सतर्फ विमलकुमार गुरुङले चन्द्र शाहीलाई ४–६, ६–४ र १३–११ ले हराउँदै पहिलो स्थान हासिल गरेका थिए। सोही स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीले मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीलाई ४–६, ६–२ र १०–६ ले पराजित गर्दै उपाधि जितेको छ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्रीले रोहित सुनुवारलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए। सोही स्पर्धाको पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीलाई ६–३, १–६ र ११–९ ले हराउँदै विजेता बनेका छन्।

भेट्रान ६५ वर्षमाथि कमल थापाले सिंगल्स तथा डबल्स दुवैतर्फ उपाधि जित्दै दोहोरो स्वर्ण हात पारेका छन्। उनले सिंगल्सको फाइनलमा ध्रुवबहादुर गुरुङलाई ६–१ र ६–० ले हराएका थिए भने डबल्समा छ्याम्बा डुन्डुपसँग जोडी बाँध्दै ध्रुवबहादुर गुरुङ र रविन्द्रदास श्रेष्ठको जोडीलाई ६–२ र ६–३ ले पराजित गरेका थिए।
प्रतियोगिताअन्तर्गत आज (शनिबार) पुरुष तथा महिला सिंगल्सतर्फका फाइनल खेलहरू हुँदैछन्। पुरुषतर्फ प्रदीप खड्का र प्रणव मानन्धर तथा महिलातर्फ शिभाली गुरुङ र स्वस्तिका विष्ट उपाधिका लागि प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।


