१८ औं इन्डो–नेपाल खुला कराते: बाघ भैरव बन्यो टिम च्याम्पियन

काठमाडौं, जेठ २३ गते।

नेपालको बाघ भैरव डोजोले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि जितेको छ। ७ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै बाघ भैरव समग्रमा टिम च्याम्पियन बनेको हो।

मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजको हलमा भएको प्रतियोगितामा भारत ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित दोस्रो स्थानमा रह्यो। तेस्रो स्थान हासिल गरेको नेपालको ठैब डोजोले ४ स्वर्ण र १ कांस्य पदक हात पाऱ्यो।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुषतर्फ अरनिको डोजोका रोशन खत्री तथा महिलातर्फ चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भए।

विजेता खेलाडीहरूलाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर र आयोजक टेक्सासका कार्यकारी अध्यक्ष भेषराज पोखरेल लगायतले पुरस्कृत गरे। सोही अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई सम्मान गरिएको थियो।

दुई दिने प्रतियोगितामा नेपालका २ सय ३२ र भारतका २२ गरी कुल २ सय ५४ खेलाडीले २२ वटा विधामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं गोजुकाइ कराते डो संघका महासचिव इन्द्रबहादुर शाही खड्गेले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ