दोस्रो खुला जुडो: आर्मीका प्रवीण, राजु र मोनिकालाई स्वर्ण
काठमाडौं, जेठ २३ गते।
नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन्। ३ वटा विधामा प्रतिस्पर्धा भएको प्रतियोगिताको सबै स्वर्ण आर्मीका खेलाडीले आफ्नो पोल्टामा पारेका हुन्।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे। आर्मीकै ताराबहादुर भुजेल र अनिल बलामी तेस्रो स्थानमा रहे।
पुरुष १०० केजीमुनि फाइनलमा राजुले ट्राइ फोर्स जुडो क्लब, भुटानका तन्जिन दोर्जीलाई हराउँदै स्वर्ण जिते। एपीएफका निर्दोष चलाउने र आर्मीका धिरेन्द्रकुमार थारुले कांस्य पदकमा चित्त बुझाए।
महिला ५७ केजीमुनि विधामा मोनिकाले आर्मीकै पार्वती आचार्यलाई फाइनलमा पाखा लगाइन्। पाम जुडो क्लबकी पेमा याङजी शेर्पा र एपीएफकी सुनिता थिङले कांस्य पदक जिते।
तीनै स्पर्धामा पहिलो हुनेले रु. ५ हजार, दोस्रोले रु. ३ हजार र तेस्रो हुनेले रु. २ हजार नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गरे। विजेताहरूलाई नेपालका लागि जापानी राजदूत तोरु मेदा र आयोजक एकेडेमीका निर्देशक सरोज महर्जन लगायतले पुरस्कृत गरे। एक दिने प्रतियोगितामा तीन विभागीय टोली र भुटानका २ क्लबसहित ११ टोलीका ५२ खेलाडीको सहभागिता रहेको निर्देशक महर्जनले जनाएका छन्।


