संस्कृति र तेजस्वी सिनियर गल्र्सतर्फ सेमिफाइनलमा

काठमाडौं, साउन १९ – आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा संस्कृति शिक्षा सदनले निम्बल एकेडेमीलाई १–० गोलले पराजित गर्‍यो। अर्को खेलमा तेजस्वी एकेडेमीले पास्कल इन्टरनेसनल एकेडेमीलाई समान १–० गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

तार्केश्वर नगरपालिका–लोलाङस्थित संस्कृति शिक्षा सदनमा जारी प्रतियोगितामा इडिफाइ इन्टरनेसनल स्कुलले काठमाडौं लिटिल ब्लोसम्सलाई २–० तथा ल्यान्डमार्क एकेडेमीले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन्।

प्रतियोगिताको उद्घाटन टोप्सका अध्यक्ष भरतमणि पोखरेलले गरेका थिए। उद्घाटन समारोहमा उनले विद्यालयस्तरका खेलकुद प्रतियोगिताले खेल संस्कृतिको विकास, अनुशासन, स्वस्थ प्रतिस्पर्धा तथा नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

संस्कृति शिक्षा सदनका व्यवस्थापन निर्देशक रबी केसीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालयका संयोजक प्रकाश न्यौपानेले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने टोप्स परिवार, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, शिक्षक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे।

प्रतियोगिताको दोस्रो दिन मंगलबार जुनियर ब्वाइजतर्फका खेलहरू हुनेछन्। प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ