संयोग–नविताको जोडी राष्ट्रिय टेबलटेनिस च्याम्पियन, मिक्स डबल्समा स्वर्ण

काठमाडौं, १५ जेठ २०८३

नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स डबल्सतर्फ स्वर्ण पदक जित्दै च्याम्पियन बनेका छन्।

शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा संयोग–नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

मिक्स डबल्समा एपीएफका राजिव चिकवन्जार र योङगी पौडेल तथा नेपाल आर्मीका जयस्नु महर्जन र सुरम्य शाक्यको जोडी संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

यसैगरी पुरुष डबल्सतर्फ बागमती प्रदेशका सुजन गडाल र प्रजिल भट्टराईको जोडीले स्वर्ण पदक जितेको छ। फाइनलमा उनीहरूले एपीएफका राजिव चिकवन्जार र दीप साउनको जोडीलाई ११–७, ३–११, ११–७, ६–११ र ११–३ को सेटमा पराजित गरे। बागमतीका कुशल न्याछो र रिजन शाक्य तथा नेपाल प्रहरीका संयोग कपाली र एलेक्स महर्जनको जोडी तेस्रो स्थानमा सीमित भए।

महिला डबल्समा एपीएफका अनिता महर्जन र दीक्षा दाहालको जोडी च्याम्पियन बन्यो। लगातार दुई सेट गुमाएको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै अनिता–दीक्षाको जोडीले आफ्नै क्लबका दिया देउला र योङगी पौडेलको जोडीलाई ९–११, ९–११, १४–१२, ११–८ र १३–११ ले पराजित गर्दै उपाधि जितेको हो।

महिला डबल्समा नेपाल प्रहरीका रविना महर्जन र स्वेच्छा नेम्वाङ तथा कोशी प्रदेशका सिक्का सुवाल र वियंका राईको जोडी तेस्रो स्थानमा रह्यो।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा सिनियर, क्याडेट र जुनियर गरी ११ विधा समावेश छन्। शनिबारसम्म ९ वटा स्वर्ण पदकको टुंगो लागिसकेको छ।

यसअघि क्याडेट यु–१५ सिंगल्सतर्फ ब्वाइजमा एपीएफका निश्चल थापा र गल्र्समा नेपाल आर्मीकी सुरम्य शाक्यले स्वर्ण जितेका थिए। त्यस्तै जुनियर यु–१९ सिंगल्सको ब्वाइजतर्फ नेपाल आर्मीका जयस्नु महर्जन तथा गल्र्सतर्फ नेपाल प्रहरीकी प्राज्ना महर्जन च्याम्पियन बनेका छन्।

प्रतियोगिताको पुरुष तथा महिला टिम इभेन्टमा नेपाल प्रहरीले उपाधि जितिसकेको छ। राष्ट्रियस्तरको यो प्रतियोगिता आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ