नेपाली कप्तानहरूको नजरमा फिफा विश्वकप

देउखुरी, दाङ,  जेठ ३१ गते आइतबार ।

फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु भएको छ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा पहिलो पटक आयोजना गरेको विश्वकपमा ४८ राष्ट्रका १,२४८ खेलाडी सहभागी छन्।

विश्व फुटबलको महाकुम्भ मानिने प्रतियोगिता १६ शहरका १६ रंगशालामा सञ्चालन हुनेछ, जहाँ कुल १०४ खेल खेलाइनेछन्। विश्वकपको सुरुवातसँगै संसारभर फुटबलको माहोल तातेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। नेपाली टोली विश्वकपमा स्थान बनाउन नसके पनि लाखौं नेपाली समर्थकले टेलिभिजनमार्फत आफ्ना मनपर्ने टोलीलाई समर्थन गर्ने तयारी गरेका छन्।

विश्वकपप्रति आम समर्थकको मात्र होइन, फुटबलमै जीवन समर्पण गरेका खेलाडी तथा प्रशिक्षकहरूको पनि विशेष चासो रहने गर्छ। नेपाली राष्ट्रिय टोलीलाई विभिन्न कालखण्डमा नेतृत्व गरेका पूर्व कप्तानहरूले यसपटकको विश्वकपलाई आ–आफ्नै दृष्टिकोणबाट हेरिरहेका छन्।

गणेश थापा : अर्जेन्टिना पहिलो रोजाइ, रोनाल्डोको लागि पोर्चुगललाई शुभकामना

पूर्व कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले यसपटक घरमै बसेर विश्वकप हेर्ने योजना बनाएका छन्। नेपाली टोलीका अन्तर्राष्ट्रिय खेलबाहेक अन्य प्रतियोगिता कमै हेर्ने थापाका लागि विश्वकप भने सधैं विशेष रहने गरेको छ।

सन् १९८२ देखि अर्जेन्टिनाका समर्थक रहेका थापा यसपटक पनि अर्जेन्टिनाले नै उपाधि जित्ने विश्वास व्यक्त गर्छन्।

“सन् १९८२ देखि नै म अर्जेन्टिनाको समर्थक हुँ। त्यसैले यसपटक पनि अर्जेन्टिनाले नै उपाधि जित्छ भन्ने विश्वास छ,” उनले भने।

यद्यपि अर्जेन्टिना सफल नभए पोर्चुगलले जितोस् भन्ने उनको चाहना छ। “रोनाल्डोको सम्भवतः अन्तिम विश्वकप भएकाले पोर्चुगल सफल भएको हेर्न चाहन्छु,” थापाले बताए।

उपेन्द्रमान सिंह : जर्मनीमाथि अझै भरोसा

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले पनि यसपटकको विश्वकप घरमै बसेर हेर्ने तयारी गरेका छन्।

सन् १९९० देखि जर्मनी टोलीका समर्थक रहेका सिंहले पछिल्ला वर्षहरूमा टोलीको प्रदर्शन अपेक्षाअनुसार नभए पनि यसपटक जर्मनीले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्।

“सानैदेखि जर्मनीको समर्थक हुँ। अहिले पनि यही टोलीलाई समर्थन गर्छु,” उनले भने, “मध्यरातमा खेल हुने भएकाले बाहिर जाने योजना छैन, घरमै बसेर खेल हेर्छु।”

हरि खड्का : समर्थकभन्दा प्रशिक्षकको दृष्टि बढी

नेपालका सर्वाधिक सफल स्ट्राइकरमध्ये एक हरि खड्काले यसपटकको विश्वकपलाई प्रशिक्षकको दृष्टिले हेर्ने बताएका छन्। एन्फाका प्राविधिक निर्देशकसमेत रहेका खड्काका लागि विश्वकप सिकाइको अवसर पनि हो।

“पहिला खेलाडीका रूपमा विश्वकप हेर्थें। अहिले प्रशिक्षकका रूपमा हेर्दैछु। यस्ता प्रतियोगिताबाट धेरै कुरा सिक्न सकिन्छ,” उनले भने।

नेपालका लागि सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गरेका खड्काले अघिल्लो विश्वकपमा अर्जेन्टिनालाई समर्थन गरेका थिए। यसपटक भने क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप भएकाले पोर्चुगल सफल भएको हेर्ने चाहना रहेको उनले बताए।

“अघिल्लो पटक मेसीले उपाधि जित्दा खुसी लागेको थियो। यसपटक रोनाल्डो र पोर्चुगल सफल भएको हेर्न चाहन्छु,” उनले भने।

राकेश श्रेष्ठ : अर्जेन्टिनाप्रति समर्थन, स्पेन र फ्रान्सलाई दाबेदार

नेपाली फुटबलका पूर्व कप्तान रक्षक राकेश श्रेष्ठ सन् १९९९ देखि विश्वकप हेर्दै आएका छन्। दक्षिण अमेरिकी फुटबलका प्रशंसक श्रेष्ठ अर्जेन्टिना र ब्राजिलबाट विशेष प्रभावित छन्।

“अर्जेन्टिनाले फेरि पनि विश्वकप जितोस् भन्ने चाहना छ,” उनले भने, “तर यसपटक स्पेन र फ्रान्स निकै बलिया टोली देखिएका छन्।”

नेपाल यू–१६ महिला टोलीका प्रशिक्षकसमेत रहेका श्रेष्ठले खेलहरू मध्यरातदेखि बिहानसम्म हुने भएकाले समय व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।

“लिग चरणका खेलहरू घरमै बसेर हेर्छु। नकआउट चरणका केही महत्वपूर्ण खेल भने साथीहरूसँग बसेर हेर्ने योजना छ,” उनले सुनाए।

अनिल गुरुङ : इङ्ल्यान्डको समर्थन, उपाधिका धेरै दाबेदार

पूर्व कप्तान अनिल गुरुङले यसपटक अमेरिकामै पुगेर विश्वकप हेर्ने योजना बनाएका थिए। तर आफ्नै फुटबल एकेडेमीको व्यस्तताका कारण उनको योजना स्थगित भएको छ।

उनले सञ्चालन गर्दै आएको एजी–१० फुटबल एकेडेमीका खेलाडीलाई डेनमार्कमा हुने प्रतियोगितामा सहभागी गराउनुपर्ने भएकाले अमेरिका जान नसकेको बताए।

“अमेरिका जाने योजना थियो, त्यही अवसरमा विश्वकप पनि हेर्ने सोच थियो। तर एकेडेमीका कार्यक्रमका कारण सम्भव भएन,” उनले भने।

सन् २०२६ को विश्वकपमा टोली संख्या बढेर ४८ पुगेकाले सुरुमै उपाधि विजेताको अनुमान गर्न कठिन भएको उनको भनाइ छ।

“सानैदेखि इङ्ल्यान्डको समर्थक हुँ। यसपटक इङ्ल्यान्डले राम्रो गरोस् भन्ने चाहना छ,” उनले भने, “तर अर्जेन्टिना, फ्रान्स, नेदरल्यान्ड्स र जर्मनीजस्ता टोलीहरू पनि बलिया दाबेदार हुन्।”

विश्वकपले नेपाली फुटबलकर्मीलाई पनि उत्साहित बनायो

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सुरु भएसँगै नेपाली फुटबल समुदाय पनि उत्साहित देखिएको छ। पूर्व कप्तानहरूको रोजाइ फरक–फरक भए पनि सबैको साझा अपेक्षा भने उत्कृष्ट फुटबल, रोमाञ्चक प्रतिस्पर्धा र नयाँ इतिहास निर्माणको रहेको छ। आगामी एक महिनासम्म विश्व फुटबलको केन्द्र उत्तर अमेरिका रहनेछ भने नेपाली समर्थकको ध्यान पनि विश्वकपकै मैदानमा केन्द्रित रहनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ