दोस्रो दिन जुरौनी फुटबल क्लब र युनाइटेड लालमटिया युथ क्लब सेतोको शानदार जित
बालकृष्ण थापा क्षेत्री
रामनगर, २०८३ असोज ३ गते ।
प्रथम खुला फुटबल प्रतियोगिताको दोस्रो दिन जुरौनी फुटबल क्लब गढवा–१ र युनाइटेड लालमटिया युथ क्लब सेतोले शानदार जित निकालेका छन्।
शनिबार दिउँसो २ बजेका लागि तय भएको खेल ठूलो वर्षाका कारण केही समय प्रभावित भए पनि रेफ्रीले खेल सञ्चालन गर्ने निर्णय गरेपछि खेलाडीहरू वर्षामै मैदानमा उत्रिएका थिए। पानी परिरहेकै अवस्थामा मैदानमा पानी जमेको भए पनि दुवै टोलीका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास गरेका थिए। खेलका क्रममा केही खेलाडी मैदानमा चिप्लिएर लडे पनि गोलका लागि उनीहरूको संघर्ष भने रोकिएन।
जुरौनीको पेनाल्टी सुटआउटमा रोमाञ्चक जित


दिनको पहिलो खेलमा जुरौनी फुटबल क्लब गढवा–१ र गौतम बुद्ध फुटबल क्लब भालुवाङ आमनेसामने भएका थिए।
खेल सुरु भएको २०औँ मिनेटमा जुरौनीका जर्सी नम्बर ४ का खेलाडीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा गौतम बुद्धले गोल फर्काउन सकेन।
दोस्रो हाफमा कडा प्रतिस्पर्धाका बीच गौतम बुद्धले २१औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। निर्धारित ९० मिनेटसम्म थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।


पेनाल्टी सुटआउटमा जुरौनीले ४ गोल गर्न सफल हुँदा गौतम बुद्ध १ गोलमा सीमित भयो। गौतम बुद्धका एक खेलाडीले पहिलो पेनाल्टी नै बाहिर प्रहार गरे भने जुरौनीका गोलकिपरले अर्को प्रहार रोक्न सफल भए। अन्ततः जुरौनीले ४–१ को जित निकाल्दै प्रतियोगितामा आफ्नो यात्रा अघि बढायो।
पहिलो खेलपछि राप्ती गाउँपालिका–२ का वडाध्यक्ष पहलमान चौधरी अनुपले मायाको चिनो प्रदान गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका जुरौनी फुटबल क्लबका कप्तान तथा गोलकिपर जयकिसन डाला मगर म्यान अफ द म्याच घोषित भए।





युनाइटेड लालमटिया सेतोको सहज जित
शनिबारको दोस्रो खेलमा युनाइटेड लालमटिया युथ क्लब सेतो र हर्षेडाँडा फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।
अनुभवी खेलाडीले भरिएको युनाइटेड लालमटिया सेतोविरुद्ध हर्षेडाँडाका युवा खेलाडीले सुरुवाती चरणमा राम्रो चुनौती प्रस्तुत गरे पनि खेल अघि बढ्दै जाँदा अनुभवको प्रभाव मैदानमा देखियो।
युनाइटेड लालमटियाका जर्सी नम्बर ११ का अमित चौधरीले पहिलो हाफको ७औँ र २१औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। दोस्रो हाफको १८औँ मिनेटमा रामकृष्ण चौधरीले थप एक गोल गरेपछि युनाइटेड लालमटियाले ३–० को अग्रता बनायो।
हर्षेडाँडाका खेलाडीहरूले गोल फर्काउन केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा टोली ३–० ले पराजित भयो।
दोस्रो खेलपछि पनि मायाको चिनो वितरण गरिएको थियो। उक्त खेलमा दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका अमित चौधरी म्यान अफ द म्याच घोषित भए।








१६ टोलीको सहभागिता
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ। खुला नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद ३५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ।
व्यक्तिगत विधातर्फ बेस्ट प्लेयरलाई नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी, हाई स्कोरर र बेस्ट किपरलाई जनही २ हजार रुपैयाँसहित ट्रफी तथा राइजिङ प्लेयरलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
आइतबार दुई खेल
प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो २ बजे बसन्तपुर क्लब र आवाईसि नयाँगाउँबीच हुनेछ।
त्यस्तै दोस्रो खेल अपराह्न ४ बजे युनाइटेड लालमटिया युथ क्लब निलो र मौरीघाटबीच हुने आयोजकले जनाएको छ।


