तेस्रो दिन आयोजक युनाइटेड लालमटिया निलो र बसन्तपुर विजयी

बालकृष्ण थापा क्षेत्री
रामनगर, २०८३ असोज ४ गते ।

प्रथम खुला फुटबल प्रतियोगिताको तेस्रो दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। तेस्रो दिनको पहिलो खेलमा बसन्तपुर र दोस्रो खेलमा आयोजक युनाइटेड लालमटिया युवा क्लब निलो विजयी भएका छन्।

तेस्रो दिनको पहिलो खेलमा आरवाइसी नयाँगाउँ र बसन्तपुरबीच निकै प्रतिस्पर्धात्मक खेल भयो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोल गरेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो।

पेनाल्टी सुटआउटमा बसन्तपुरले बाजी मार्दै ९–८ गोलअन्तरले आरवाइसी नयाँगाउँलाई पराजित गर्न सफल भयो। पेनाल्टीमा आरवाइसी नयाँगाउँले ८ गोल गरे पनि टोलीलाई जित दिलाउन सकेन। पराजित हुँदै आरवाइसी नयाँगाउँ प्रतियोगिताबाट बाहिरिँदा बसन्तपुर भने अर्को चरणमा प्रवेश गरेको छ।

खेलपछि दुवै टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका बसन्तपुरका सागर चौधरी म्यान अफ द म्याच घोषित हुँदै नगदसहित सम्मानित भए।

त्यसैगरी, तेस्रो दिनको दोस्रो खेलमा आयोजक युनाइटेड लालमटिया युवा क्लब निलो र मौरिघाटबीच प्रतिस्पर्धा भयो। खेलको पहिलो हाफमै युनाइटेड लालमटिया निलोले २ गोल गर्दै अग्रता बनाएको थियो।

दोस्रो हाफमा मौरिघाटले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि युनाइटेड लालमटियाले थप एक गोल गरेपछि खेल ३–१ गोलअन्तरले युनाइटेड लालमटिया निलोको पक्षमा सकिएको हो।

खेलका क्रममा युनाइटेड लालमटिया निलोका एक विदेशी खेलाडीले पनि दर्शकको ध्यान खिचे। उनले गरेको शक्तिशाली प्रहार गोल हुनबाट जोगिएपछि दर्शकदीर्घाबाट हुटिङसहित उत्साहजनक प्रतिक्रिया आएको थियो।

खेलपछि दुवै टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गरेका निरबहादुर थापा म्यान अफ द म्याच घोषित हुँदै नगदसहित सम्मानित भए।

सोमबारका खेल

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन्।

दिउँसो १ बजे: यङ बोवायज् विरुद्ध खुरुरिया
अपराह्न ३ बजे: एकतानगर विरुद्ध वनगाई फुटबल क्लब

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ