आईटीएफ यू–१२ टेनिसमा सेमिफाइनल समीकरण पूरा, नेपाल भारतसँग भिड्ने
काठमाडौं, बैशाख २ गते ।
सातदोबाटोस्थित टेनिस कोर्टमा जारी आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत ब्वाइजतर्फ बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ।
समूह ‘ए’ बाट भारत विजेता र श्रीलंका उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् भने समूह ‘बी’ बाट पाकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै अन्तिम चारमा पुगेका हुन्। अब सेमिफाइनलमा भारत र नेपाल आमनेसामने हुनेछन् भने अर्को खेलमा श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनलमा विजयी हुने टोलीहरू आगामी सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा आयोजना हुने एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन्। ब्वाइजतर्फ बंगलादेश बाहेक ६ राष्ट्र सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल सञ्चालन गरिएको हो।
बुधबार ब्वाइज र गल्र्सतर्फ समान २–२ गरी कुल ४ खेल सम्पन्न भएका थिए। नेपालका दुवै टोलीले प्रतिस्पर्धा गरे पनि दुवै खेलमा ३–० को नतिजामा पराजित भए।

ब्वाइजतर्फ पाकिस्तानले नेपाललाई ३–० ले हरायो। सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजंग कार्कीलाई ६–०, ६–२ तथा मुहम्मद गिलले आरित मल्ललाई ६–२, ६–१ ले पराजित गरे। डबल्समा मुहम्मद फाइजन र मुहम्मद गिलको जोडीले साहंश बस्नेत र सभ्यजंग कार्कीको जोडीलाई ६–२, ६–१ ले हराए। यसैगरी, भारतले श्रीलंकालाई पनि ३–० ले पराजित गर्यो।
गल्र्सतर्फ पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा भारत र माल्दिभ्स विजयी भए। भारतले नेपाललाई ३–० ले हरायो। सिंगल्समा पी चतर्जीले आर्या पौडेललाई ६–२, ६–१ तथा अशिष कौरले सारा पन्तलाई ६–०, ६–२ ले हराइन्। डबल्समा चौधरी सिंह र अशिष कौरको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४–६, ६–३, १०–४ ले पराजित गरे।
माल्दिभ्सले पाकिस्तानलाई ३–० ले हराउँदै जित हात पारेको छ।
तेस्रो दिनको खेल समाप्तिसम्म गल्र्सतर्फ भारत, श्रीलंका र नेपालले समान २–२ खेल खेल्दा क्रमशः भारत र श्रीलंकाले २–२ जित तथा नेपालले १ जित निकालेको छ। माल्दिभ्स र पाकिस्तानले ३–३ खेल खेलिसकेका छन्, जसमा माल्दिभ्सले १ जित हात पारेको छ भने पाकिस्तान जितविहीन छ।
गल्र्सतर्फ पनि शीर्ष दुई टोली एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन्।


