सर्वसाधारणका लागि सातदोबाटोको पौडी पोखरी पुनः खुल्यो

काठमाडौं, बैशाख २ गते ।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। जाडोयामका कारण केही महिनादेखि बन्द गरिएको उक्त पोखरी गर्मी मौसम सुरु भएसँगै पुनः खुला गरिएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरी औपचारिक रूपमा पौडी पोखरी सञ्चालनको शुभारम्भ गरेका हुन्। उद्घाटन कार्यक्रममा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायत कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

परिषद्का अनुसार अब उक्त पौडी पोखरी हरेक दिन तीन सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान १० बजेदेखि १२ बजेसम्म, दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि ३ बजेसम्म र तेस्रो सिफ्ट बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिनेछ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै समय व्यवस्थापन गरिएको परिषद्ले जनाएको छ।

शुल्कका हिसाबले पहिलो र दोस्रो सिफ्टका लागि प्रति व्यक्ति २०० रुपैयाँ निर्धारण गरिएको छ भने तेस्रो सिफ्टका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ। साथै ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष छुटको व्यवस्था गरिएको परिषद्ले जानकारी दिएको छ।

गत असोज १० गतेदेखि जाडोयाम सुरु भएसँगै आउटडोर पौडी पोखरी बन्द गरिएको थियो। तर सोही परिसरभित्र रहेको हिटिङ सुविधा भएको इनडोर पौडी पोखरी भने निरन्तर सञ्चालन हुँदै आएको थियो।

राखेपले गर्मी मौसममा सर्वसाधारणलाई स्वस्थ जीवनशैली अपनाउन र खेलकुद गतिविधिमा आकर्षित गर्न यस्तो सुविधा पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। साथै, सुरक्षा मापदण्ड र सरसफाइमा विशेष ध्यान दिइएको पनि परिषद्ले स्पष्ट पारेको छ।

स्थानीय बासिन्दा तथा खेलप्रेमीहरूले पोखरी पुनः सञ्चालनमा आएकामा खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्तो सुविधा नियमित र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ