१२औं सिटिजन्स बैंक खुला टेनिस: महिला सिंगल्समा शिभाली र स्वस्तिका फाइनलमा
काठमाडौं, बैशाख १८ गते —
१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ शिभाली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुगेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको खेलमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। यस्तै, स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ ले हराउँदै फाइनल यात्रा तय गरिन्।
पुरुष सिंगल्सतर्फ प्रदीप खड्का र दर्शिल श्रेष्ठले उपाधि भिडन्त पक्का गरेका छन्। प्रदीपले सेमिफाइनलमा आयुशमान हजुर घलेलाई ६–३, ६–७ र ६–१ ले हराए भने दर्शिलले प्रणव मानन्धरलाई ६–० र ६–० को एकतर्फी नतिजामा पराजित गरे।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा पुगेका छन्। जितेन्द्रले भीष्मजंग गुरुङलाई ६–४ र ६–१ ले हराउँदा सन्तोषले दावा सोनाम शेर्पालाई ६–२ र ७–५ ले पराजित गरे।
सोही स्पर्धाको पुरुष डबल्सतर्फ भीष्मजंग गुरुङ/गगन महर्जन तथा जितेन्द्र परियार/छेवाङ लामा जोडीले आ–आफ्ना खेल जित्दै फाइनलमा स्थान सुरक्षित गरेका छन्।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भेट्रान ७० वर्षमाथि पुरुष सिंगल्सको उपाधि धीरबहादुर गुरुङले जितेका छन्। उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारलाई ५–४ र ४–० ले पराजित गरे।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्री र रोहित सुनुवार फाइनलमा प्रवेश गरेका छन्। देवले महेश श्रेष्ठलाई ७–५ र ६–३ ले हराउँदा रोहितले अमितसिंह गुरुङलाई ६–३ र ६–१ ले पराजित गरे। पुरुष डबल्सतर्फ रोहित/महेश तथा अमितसिंह/देव जोडी फाइनलमा पुगेका छन्।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही र विमलकुमार गुरुङ फाइनलमा पुगेका छन्। सोही स्पर्धाको डबल्समा चन्द्र शाही/सोभितमान श्रेष्ठ तथा मनु त्रिपाठी/पृथ्वीमान गुरुङ जोडीले उपाधि भिडन्त पक्का गरेका छन्।
भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ र कमल थापा फाइनलमा प्रवेश गर्दा डबल्सतर्फ कमल थापा/छ्याम्बा डुन्डुप तथा ध्रुवबहादुर गुरुङ/रविन्द्रदास श्रेष्ठ जोडी फाइनलमा पुगेका छन्।
प्रतियोगितामा कुल १३ स्पर्धा समावेश छन्। शुक्रबार ११ स्पर्धाको फाइनल सम्पन्न हुने कार्यक्रम रहेको छ भने पुरुष तथा महिला सिंगल्सतर्फको फाइनल खेल शनिबार हुनेछ।



