चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल आजदेखि हुँदै
काठमाडौं, बैशाख १८ गते
काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा हुने चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आजदेखि चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा हुँदैछ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा १९ टोलीको सहभागिता सुनिश्चित भएको आयोजक तथा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिएका छन्।
सेभेन–ए–साइड स्वरूपमा सञ्चालन हुने नकआउट प्रतियोगितामा विजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँमा चित्त बुझाउनेछ। यसैगरी, विभिन्न विधामा उत्कृष्ट चार खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
गत संस्करणको उपाधि मनास्लु टोलीले जितेको थियो। प्रतियोगिता बैशाख २२ गतेसम्म सञ्चालन हुनेछ।


