समूह ‘के’ मा रोनाल्डोको पोर्चुगल : कोलम्बिया, उज्वेकिस्तान र कंगोको चुनौती
देउखुरी, दाङ, जेठ २७ गते बुधबार
क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगल फिफा विश्वकप २०२६ मा उपाधि लक्ष्यसहित मैदान उत्रिँदैछ । ४१ वर्षको उमेरमा पनि विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक मानिने रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ ।
पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो हालसम्म २२६ अन्तर्राष्ट्रिय खेलमा १४३ गोलसहित विश्वकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन् । तर पछिल्लो सिजन ह्यामस्ट्रिङ चोट र फर्ममा गिरावटका कारण उनको प्रदर्शन अपेक्षाभन्दा कमजोर रह्यो ।
पोर्चुगल : उपाधिको सपना र दबाब
फिफा वरियतामा शीर्ष पाँचमा रहेको पोर्चुगल पछिल्ला वर्षमा लगातार बलियो टोलीका रूपमा देखिएको छ । रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको टोलीमा ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, रुबेन डियाज, जोआओ नेभेस र राफेल लियो जस्ता स्टार खेलाडीहरूको बलियो उपस्थिति छ ।
पोर्चुगलले सन् २००६ पछि विश्वकपमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ, तर उपाधि जित्न भने अझै सफल भएको छैन । समूह ‘के’ मा कोलम्बिया, उज्वेकिस्तान र कंगोसँगको प्रतिस्पर्धा पोर्चुगलका लागि कागजमा सहज देखिए पनि अनिश्चिततापूर्ण मानिएको छ ।
कोलम्बिया : हामेस रोड्रिग्वेजको अनुभव
दक्षिण अमेरिकी टोली कोलम्बिया कप्तान हामेस रोड्रिग्वेजको अनुभवमा निर्भर छ । सन् २०१४ विश्वकपमा गोल्डेन बुट जितेका रोड्रिग्वेज अझै पनि टोलीका प्रमुख खेलाडी हुन् ।
नेस्टर लोरेन्जोको प्रशिक्षणमा रहेको कोलम्बिया फिफा वरियतामा १३औं स्थानमा छ । लुइस डियाज, डेविन्सन सान्चेज र येरी मिना जस्ता खेलाडीहरूले टोलीलाई सन्तुलन दिएका छन् ।
उज्वेकिस्तान : पहिलो ऐतिहासिक यात्रा
पूर्व सोभियत संघको हिस्सा रहेको उज्वेकिस्तान स्वतन्त्र राष्ट्र बनेपछि पहिलो पटक विश्वकपमा पुगेको हो । टोलीलाई विश्वकप जितिसकेको अनुभव भएका इटालियन प्रशिक्षक फाबियो कानाभारोले नेतृत्व गरिरहेका छन् ।
कप्तान इल्डर शोमुरोडोभको अनुभव र म्यानचेस्टर सिटीका युवा डिफेन्डर अब्दुकोदिर खुसानोभको उपस्थितिले टोलीलाई बलियो बनाएको छ ।
कंगो : संघर्षबाट उत्साहसम्म
कंगोले सन् १९७४ पछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको हो । लामो आन्तरिक द्वन्द्वपछि प्राप्त यो सफलता देशका लागि ठूलो उत्साह बनेको छ ।
कप्तान चान्सेल एमबेम्बा र सेड्रिक बाकाम्बुको नेतृत्वमा टोलीले सन्तुलित प्रदर्शन गर्ने लक्ष्य राखेको छ । प्रशिक्षक सेवास्टिन डेसाब्रेले टोलीलाई प्रतिस्पर्धात्मक बनाउने प्रयास गरेका छन् ।
समूह ‘के’ खेलतालिका (नेपाली समय)
- पोर्चुगल vs कंगो – १७ जुन, राति २२:४५
- उज्वेकिस्तान vs कोलम्बिया – १८ जुन, बिहान ०७:४५
- पोर्चुगल vs उज्वेकिस्तान – २३ जुन, राति २२:४५
- कोलम्बिया vs कंगो – २४ जुन, बिहान ०७:४५
- कोलम्बिया vs पोर्चुगल – २८ जुन, बिहान ०५:१५
- कंगो vs उज्वेकिस्तान – २८ जुन, बिहान ०५:१५


