विश्वकै प्रदूषित सहर काठमाडौं
काठमाडौं, वैशाख १३
पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि मध्यम बदली देखिएको छ। राजधानी काठमाडौं उपत्यकामा आज बिहान हल्का वर्षा भए पनि हाल आकाश धुम्मिएको अवस्थामा रहेको छ।
कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ आउँदै गरेका तीन अन्तर्राष्ट्रिय उडानसहित केही आन्तरिक उडानहरू अन्य विमानस्थलतर्फ डाइभर्ट गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ। मौसमका कारण उडान व्यवस्थापनमा समेत चुनौती देखिएको छ।
यससँगै, राजधानीको वायु प्रदूषण पनि उच्च स्तरमा पुगेको छ। वायु गुणस्तर मापन गर्ने संस्था IQAir का अनुसार हाल काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा नयाँ दिल्ली परेको छ।
विशेषज्ञहरूले बढ्दो प्रदूषण र कमजोर भिजिबिलिटीले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।


