नेपाली केम्पो टोलीलाई एक स्वर्णसहित २५ पदक
काठमाडौं, वैशाख १३
काठमाडौं – नेपाली केम्पो (मार्सल आर्ट्स) टोलीले टर्कीमा सम्पन्न २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित कुल २५ पदक जित्दै ऐतिहासिक सफलता हात पारेको छ।
टर्कीको एन्टाल्या शहरमा आयोजित उक्त प्रतियोगितामा नेपाली टोलीले पाँच विभिन्न विधामा प्रतिस्पर्धा गर्दै एक स्वर्ण, ६ रजत र १८ कांस्य पदक जितेको हो। यस उपलब्धिलाई नेपाल केम्पोको अन्तर्राष्ट्रिय इतिहासकै उत्कृष्ट प्रदर्शनका रूपमा लिइएको छ।
जुनियर काता विधामा मोनालिसा धामीले स्वर्ण पदक जित्दै नेपाललाई प्रतियोगितामा पहिलो सफलता दिलाएकी थिइन्। उनले फुल केम्पो फाइट (जुनियर) अन्तर्गत १२–१४ वर्ष उमेर समूहमा पनि रजत पदक जितेर दोहोरो सफलता हासिल गरिन्।
यसैगरी, ८–१० वर्ष उमेर समूहमा आइरा गौतमले रजत पदक जित्दा ६–८ वर्ष समूहमा पृशा राज्यलक्ष्मी शाह कांस्य पदकमा सीमित भइन्। १२–१४ वर्ष समूहमा सुलभ श्रेष्ठले कांस्य जिते भने सिनियर फुल केम्पो फाइटमा शिवहरि राईले पनि कांस्य पदक प्राप्त गरे।
नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले स्वर्ण पदक संख्या सीमित भए पनि समग्र पदक संख्या उल्लेखनीय रहेको भन्दै खुशी व्यक्त गरे। उनले भने, “यो विश्व च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। यति धेरै पदक जित्नु देशका लागि गर्वको विषय हो।”
प्रतियोगिताको पहिलो दिन जुनियर कातामा मोनालिसा धामीले स्वर्ण जित्दै नेपालको स्वर्ण खाता खोलेकी थिइन्। सोही विधामा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदक जिते। विपन काता (जुनियर) मा मोनालिसा धामीले रजत जित्दा सुलभ श्रेष्ठ र क्रिडिक्स विक्रम कुँवरले कांस्य हात पारे।
काता (१८ वर्षमाथि) मा यमन पाण्डेले कांस्य जिते भने समूह कातामा मोनालिसा धामी र आइरा गौतमले पनि कांस्य पदक थपे। सेल्फ डिफेन्स विधामा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईको टोलीले कांस्य जित्यो।
मिक्स सेल्फ डिफेन्समा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईले रजत पदक जित्दा, सेल्फ डिफेन्स (जोडी) मा अञ्जना शाही र मोनालिसा धामीले कांस्य पदक प्राप्त गरे।
दोस्रो दिनको प्रतिस्पर्धामा सबमिसन (जुनियर) मा क्रिडिक्स विक्रमले रजत जिते भने मोनालिसा धामी, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जिते। सेमि केम्पो फाइट (जुनियर) मा मोनालिसा धामीले पुनः रजत जित्दा क्रिडिक्स विक्रम र आइरा गौतमले कांस्य थपे। नकडाउन फाइटमा यमन पाण्डेले पनि कांस्य पदक जिते।
प्रतियोगितामा नेपालबाट कुल १६ खेलाडी तथा अधिकारी सहभागी थिए। प्रशिक्षक अञ्जना शाहीले सबै पदक विजेता तथा सहभागी खेलाडीलाई बधाई दिँदै विश्वस्तरमा नेपालको झण्डा फहराउन सफल भएकोमा खुशी व्यक्त गरिन्।


