विश्वकप अवैध स्ट्रिमिङ रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

देउखुरी, दाङ,  जेठ २९ गते शुक्रबार— नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अवैध रूपमा प्रसारण तथा स्ट्रिमिङ हुन नदिन सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई कडा निगरानी गर्न निर्देशन दिएको छ।

प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले बिहीबार जारी गरेको पत्रमा नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डीगो ब्रोडकास्टिङ कन्सोर्टियम सँग रहेको उल्लेख गरिएको छ।

प्राधिकरणले पाइरेटेड वेबसाइट तथा अनधिकृत एपमार्फत विश्वकपका खेलहरू निःशुल्क स्ट्रिमिङ गर्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको जनाउँदै सेवा प्रदायकहरूलाई त्यस्ता गतिविधि रोक्न आवश्यक प्राविधिक व्यवस्था मिलाउन र नियमित निगरानी गर्न आग्रह गरेको छ। यसका लागि सम्भावित अवैध प्रसारण हुने ३५ वटा वेबसाइट तथा प्लेटफर्मको सूचीसमेत सार्वजनिक गरिएको छ।

नेपालमा फिफा विश्वकप २०२६ का सबै १०४ खेल हिमालय स्पोर्ट्स च्यानलबाट टेलिभिजनमा तथा डीगो एपमार्फत डिजिटल प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुनेछन्। फिफाले नेपालका लागि विशेष (एक्सक्लुसिभ) प्रसारण अधिकार प्रदान गरेकाले विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ सेवाले नेपालभित्र खेल प्रसारण गर्न पाउने छैनन्।

विश्वकप हेर्न चाहने दर्शकका लागि टिभी प्याकेजको शुल्क करसहित ९९९ रुपैयाँ तथा मोबाइल-ओन्ली प्याकेजको शुल्क ५४९ रुपैयाँ निर्धारण गरिएको छ। डीगोका अनुसार प्रयोगकर्ताले मोबाइल-ओन्ली पासमार्फत १०८०पी (फुल एचडी) गुणस्तरमा नेपाली वा अंग्रेजी कमेन्ट्रीसहित सबै खेल प्रत्यक्ष हेर्न सक्नेछन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ