पोखरा महिला गोल्डकप: संकटालाई हराउँदै आर्मी फाइनलमा
वैशाख १९, पोखरा
पोखरा — त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा शनिबार सम्पन्न सेमिफाइनल खेलमा संकटालाई ४–२ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो।
पोखरा रंगशालास्थित फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै जित सुनिश्चित गरेको हो। आर्मीको जितमा चन्द्रा भण्डारीले दुई गोल गरिन् भने दिपा शाही र हिमा चौधरीले एक–एक गोल थपे। संकटाका तर्फबाट विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले एक–एक गोल गरे।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा तुलसा बोहोराको पासमा दिपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्।
दोस्रो हाफ सुरु भएको केहीबेरमै आर्मीले अग्रता दोब्बर बनायो। ४७औं मिनेटमा संकटाकी गोलरक्षक सुशिला चौधरीको कमजोरीको फाइदा उठाउँदै चन्द्रा भण्डारीले गोल गरिन्। उनले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्याइन्।
तीन गोलले पछि परेको संकटाले ७०औं मिनेटमा क्वीनबेल अमनाराहमार्फत गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएको थियो। त्यसको दुई मिनेटपछि ७२औं मिनेटमा लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकिक आर्मीकी गोलरक्षक कोपिला खड्काबाट सम्हालिन नसक्दा गोलमा परिणत भयो र खेल ३–२ को स्थितिमा आयो।

निर्धारित ९० मिनेटपछि थप गरिएको ८ मिनेटमा हिमा चौधरीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन्।
यस जितसँगै आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। नेपाल पुलिस क्लबले यसअघि आयोजक आर.एस. पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। फाइनल खेल आइतबार दिउँसो २ बजे हुने तय भएको छ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। गण्डकी प्रदेशको इतिहासमै पहिलो पटक पोखरामा महिला गोल्डकप आयोजना गरिएको दाबी गरिएको छ। प्रतियोगितामा कुल चार टोलीको सहभागिता रहेको थियो।



