चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया च्याम्पियन

काठमाडौं, २०८३ वैशाख २० गते

काठमाडौं नजिकै सम्पन्न चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितामा नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढा च्याम्पियन बनेका छन्। नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला ३६ किलोमिटर दूरीतर्फ पुरुषमा राजन र महिलामा सुनमायाले शीर्ष स्थान हासिल गरेका हुन्।

राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान सुरक्षित गरे। ताप्लेजुङका रमेश लिम्बु २ घण्टा ७ मिनेट ३० सेकेन्डसहित दोस्रो तथा नेपाल आर्मीका गोपाल तामाङ २ घण्टा ७ मिनेट ४२ सेकेन्डमा तेस्रो भए। प्रतियोगितामा गजेन्द्र राई, प्रवल क्षेत्री, राजेन्द्र तामाङ, तिलकबहादुर सुनार, विरेन्द्र पाण्डे, विशाल र रिखुलाल सिन्जाली मगर क्रमशः चौथोदेखि दशौं स्थानमा रहे।

महिलातर्फ सुनमाया बुढाले २ घण्टा २७ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितिन्। नेपाल आर्मीकी सुनसरी रोकाया २ घण्टा ४४ मिनेट ५३ सेकेन्डसहित दोस्रो र खोटाङकी निर्मला राई २ घण्टा ४६ मिनेट २९ सेकेन्डमा तेस्रो स्थानमा रहिन्। अन्य प्रतिस्पर्धीहरूमा फ्रान्सकी एलिस विसकेफ, आङ फुर्वा शेर्पा, काब्या रावल, सपना गुरुङ, शासा श्रेष्ठ, मुना लिम्बु र शारदा राई चौथोदेखि दशौं स्थानसम्म पुगे।

दुवै विधामा शीर्ष पाँच स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिएको थियो।

जुनियर (यु–२०) ७ किलोमिटर दूरीतर्फ पुरुषमा उत्तम तामाङ २१ मिनेट ९ सेकेन्डमा पहिलो भए। सुसन लामिछाने र खकेन्द्र शर्मा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। महिलातर्फ शर्मिला गोले २७ मिनेट १९ सेकेन्डमा पहिलो हुँदा गीता नेपाली दोस्रो र मनिषा तामाङ तेस्रो भए। यद्यपि, दोस्रो स्थान प्राप्त गरेकी गीताको नतिजा प्राविधिक कारणले हाल स्थगित गरिएको आयोजकले जनाएको छ।

३६ किलोमिटरको मुख्य दौड चाँगुनारायण मन्दिर परिसरबाट सुरु भई त्रिशुल डाँडा, तेलकोट, श्री पञ्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु प्वाइन्ट, नगरकोट भ्यु टावर लगायतका क्षेत्र पार गर्दै चाँगुनारायण नगरपालिकामा पुगेर सम्पन्न भएको थियो।

प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहेको थियो। विजेताहरूलाई बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठलगायत विभिन्न खेलकुद पदाधिकारीहरूले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। प्रतियोगिताको उद्घाटन चाँगुनारायण नगरपालिका का मेयर जीवन खत्रीले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ