पोखरामा पहिलो पटक महिला गोल्डकप: चार शीर्ष क्लबबीच प्रतिस्पर्धा, बैशाख १८ देखि सुरु

पोखरा, बैशाख १७
पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार (बैशाख १८) देखि सुरु हुने प्रतियोगितामा चार क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ।
उद्घाटन खेलमा आयोजक आरएस पोखरा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। शनिबार संकटा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् भने आइतबार फाइनल खेल सम्पन्न गरिने कार्यक्रम छ।
पोखरामा यसअघि महिला गोल्डकप आयोजना हुन नसकेको अवस्थामा यस प्रतियोगितालाई ऐतिहासिक रूपमा हेरिएको छ। महिला फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आरएस क्लबले यो पहल गरेको अध्यक्ष कार्कीले बताए।
उनले पछिल्लो समय महिला फुटबलको लोकप्रियता उल्लेखनीय रूपमा बढिरहेको बताउँदै राष्ट्रिय महिला टोलीका खेल तथा दर्शक सहभागिताले यसको पुष्टि गर्ने धारणा व्यक्त गरे। गण्डकी प्रदेश महिला फुटबलमा पछि परेको उल्लेख गर्दै उनले साम्बा र विमला विक जस्ता प्रतिभावान खेलाडी उत्पादन गर्ने प्रदेशमा यस्तो प्रतियोगिता नहुनु दुःखद पक्ष भएको बताए।
पहिलो संस्करण भएकाले विभिन्न चुनौतीहरू रहेको स्वीकार गर्दै क्लबले हालै एन्फाको महिला लिग छनोटमा सहभागिता जनाएको पनि उनले जानकारी दिए। क्लबको दीर्घकालीन लक्ष्य राष्ट्रिय उपाधि जित्नुका साथै प्रतिभाशाली खेलाडीहरूलाई खेलसँगै शिक्षा प्रदान गर्ने रहेको छ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान १५ हजार रुपैयाँ प्रदान गरिनेछ। अनुशासित टिमलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ