एसियाली बिच खेलकुदमा कांस्य जितेको कबड्डी टोलीको भव्य स्वागत

काठमाडौं, बैशाख १६
छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको भव्य स्वागत गरिएको छ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा परिवारजनले स्वागत गरेका थिए।

चीनको सान्यामा अप्रिल २३ देखि २७ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो। समूह ‘बी’ अन्तर्गत नेपालले चाइनिज ताइपेइ, थाइल्यान्ड र बंगलादेशलाई पराजित गर्दै विजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो।

सेमिफाइनलमा भने नेपाल श्रीलंकासँग पराजित भएपछि कांस्य पदकमा सीमित भएको थियो।

पदक विजेता टोलीमा मानमति विष्ट (कप्तान), अनुजा कुलुङ राई (उपकप्तान), रविना चौधरी, सिर्जना थारु, मिना नेपाली र नानुमाया पराजुली रहेका छन्। टोलीका प्रशिक्षक रतिया राजवंशी हुन्। टोलीसँगै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि स्वदेश फर्किएका छन्।

यसअघि चीनको हाङझावमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। उक्त टोलीमा बिच खेलकुदमा सहभागी मिना नेपाली र नानुमाया पराजुली बाहेक अन्य चार खेलाडी पनि सहभागी थिए।

नेपाली महिला कबड्डी टोलीको निरन्तर उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद प्रतिष्ठा उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ