तेजस्वी कप बास्केटबलः मार्वलस र भ्याली पब्लिक पहिलो सहभागितामै च्याम्पियन

देउखुरी, दाङ, जेठ २५ गते सोमबार ।— दोस्रो संस्करणको तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मार्वलस स्कुल (ब्वाइज) र भ्याली पब्लिक स्कुल (गल्र्स) ले ऐतिहासिक सफलता हासिल गर्दै उपाधि जितेका छन्। दुवै टोलीले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै च्याम्पियन बन्ने उपलब्धि हासिल गरेका हुन्।

तार्केश्वर नगरपालिका–स्थित थापा गाउँमा रहेको तेजस्वी एकेडेमीको कोर्टमा आइतबार सम्पन्न फाइनल खेलमा मार्वलसले गोल्डेनपिक स्कुललाई ५३–४२ अंकले पराजित गर्दै ब्वाइजतर्फको उपाधि आफ्नो नाममा लेखायो। मार्वलसको जितमा सिनेप शाहीले सर्वाधिक १७ अंक योगदान दिए। प्रतियोगितामा न्युटन स्कुल तेस्रो स्थानमा रह्यो।

यता गल्र्सतर्फको प्रतिस्पर्धात्मक फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) माथि ३२–२९ को रोमाञ्चक जित निकाल्दै उपाधि उचाल्यो। भ्याली पब्लिककी दृष्य गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै १७ अंक जोडिन्। फेरिल्यान्ड स्कुलले तेस्रो स्थान प्राप्त गर्यो।

व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी सम्मानित

प्रतियोगिताको ब्वाइजतर्फ मार्वलसका रोशन कुश्वाह ‘मोस्ट भेलुएबल प्लेयर (एमभीपी)’ घोषित भए भने गल्र्सतर्फ भ्याली पब्लिककी दृष्य गुरुङले सो सम्मान प्राप्त गरिन्।

त्यस्तै, उत्कृष्ट ‘थ्री–प्वाइन्टर’ विधामा ब्वाइजतर्फ न्युटनका मिक्सन तामाङ र गल्र्सतर्फ फेरिल्यान्डकी खुश्बु मगर छनोट भए।

सर्वाधिक स्कोरकर्ताको उपाधि ब्वाइजतर्फ गोल्डेनपिकका सुशिल गिरी र गल्र्सतर्फ इबीएकी मेणुका मगरले हात पारे।

अनुशासित र उदीयमान टोली पनि घोषित

प्रतियोगितामा उत्कृष्ट अनुशासन प्रदर्शन गरेबापत ब्वाइजतर्फ अरुणी एकेडेमी र गल्र्सतर्फ केजीएसलाई ‘अनुशासित टोली’ घोषित गरियो।

त्यसैगरी, ब्वाइजतर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुल तथा गल्र्सतर्फ केएमसी स्कुल ‘उदीयमान टोली’ का रूपमा सम्मानित भए।

विजेतालाई पुरस्कार वितरण

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, तेजस्वी एकेडेमीका प्रिन्सिपल थिरबहादुर बस्नेत तथा भाइस प्रिन्सिपल विश्व पाण्डे लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

सोही अवसरमा एसईई परीक्षामा ४.० जीपीए प्राप्त गर्ने तेजस्वी एकेडेमीका विद्यार्थी रोजन श्रेष्ठ र अर्पण गुरुङ लाई प्रोत्साहनस्वरूप ल्यापटप प्रदान गरिएको थियो। विद्यालयबाट यस वर्ष एसईईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएको जानकारी पनि दिइयो। साथै, उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

४८ टोलीको प्रतिस्पर्धा

जेठ १३ गतेदेखि सुरु भएको प्रतियोगितामा ब्वाइजतर्फ ३१ तथा गल्र्सतर्फ १७ टोली गरी कुल ४८ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा सञ्चालन गरिएको आयोजक तेजस्वी एकेडेमीका बास्केटबल प्रशिक्षक दिपेश कार्की ले जानकारी दिए।

पहिलो सहभागितामै उपाधि जित्दै मार्वलस र भ्याली पब्लिकले विद्यालयस्तरीय बास्केटबलमा आफ्नो बलियो उपस्थिति दर्ज गराएका छन्। प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै विद्यालयस्तरमा बास्केटबलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ