डीएभी, जेम्स, सैनिक र पुलिस स्कुल सेमिफाइनलमा
देउखुरी, दाङ, जेठ २४ गते आइतबार ।
तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न क्वाटरफाइनल खेलपछि डीएभी सुशील केडिया विश्व भारती स्कुल, जेम्स स्कुल, सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुल अन्तिम चारमा पुगेका हुन्।
तेस्रो क्वाटरफाइनलमा जेम्स स्कुलले मोक्षदा स्कुललाई १० विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनायो। ९६ रनको लक्ष्य जेम्सले ९.५ ओभरमै विकेट नगुमाई पूरा गरेको थियो। स्वराज चौलागाईं र सुदिश पौडेल क्रमशः ३८ र ४३ रनमा अविजित रहे।
अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई ५० रनले पराजित गर्यो। १४५ रनको लक्ष्य पछ्याएको रत्न राज्य ९४ रनमा समेटिँदा सुजित यादवले ४ विकेट लिए।
सोमबार हुने पहिलो सेमिफाइनलमा डीएभी र जेम्स स्कुल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल मंगलबार हुनेछ।


