गोरखा मोडलको दशैँ मिलन तथा चौथो भलिबल प्रतियोगिता सम्पन्न, देउखुरी उद्योग वाणिज्य संघ विजेता
लमही, दाङ, २०८३ असोज २६ गते।
गोरखा मोडल सेकेन्डरी स्कुल, लमहीद्वारा आयोजित दशैँ मिलन कार्यक्रम तथा चौथो भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गरेको देउखुरी उद्योग वाणिज्य संघ र दोस्रो भएको लमही नगरपालिका टोलीका खेलाडीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको छ।

प्रतियोगितामा विजेता बनेको देउखुरी उद्योग वाणिज्य संघको टोलीलाई ट्रफी र एक बोका प्रदान गरिएको थियो। त्यसैगरी उपविजेता लमही नगरपालिका टोलीलाई ट्रफी र पाँचवटा कुखुराका भाले प्रदान गरिएको आयोजकले जनाएको छ। दुवै टोलीका खेलाडीलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।


समापन कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शारदा सुवेदी, वरिष्ठ उपाध्यक्ष केशव पोखरेल, लमही नगरपालिकाका प्रशासन प्रमुख महेश क्षेत्रीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि, पत्रकार, रेफ्री, खेलाडी तथा विद्यालयका शिक्षक र कर्मचारीको उपस्थिति रहेको थियो।



कार्यक्रममा विद्यालयका प्राचार्यले खेलकुदले आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य सुधार, नेतृत्व क्षमता अभिवृद्धि र स्वस्थ जीवनशैली प्रवर्द्धनको आधारसमेत भएको उनको भनाइ थियो।

कार्यक्रमका सभापति डोरबहादुर जिसीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई धन्यवाद दिँदै खेलकुदलाई पदक र पुरस्कार जित्ने प्रतिस्पर्धामा मात्र सीमित नराखी आपसी सम्बन्ध बलियो बनाउने, प्रतिभा पहिचान गर्ने र समुदायलाई एकताबद्ध बनाउने माध्यमका रूपमा लिनुपर्ने बताए।

उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने आयोजक, रेफ्री, प्राविधिक टोली, अतिथि, शिक्षक, कर्मचारी, खेलप्रेमी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे। प्रतियोगिताले खेलकुदको विकास, युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र आपसी सद्भाव प्रवर्द्धनमा योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरे।
समापन समारोहमा नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरिएको थियो।
विद्यालयले आयोजना गरेको दशैँ मिलन कार्यक्रम तथा भलिबल प्रतियोगिताले खेलकुदको माध्यमबाट विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ।


