लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
काठमाडौं, असोज २७ गते।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
इटालीमा स्थापना भएको लोटो स्पोर्टले खेलकुद पोसाक, जुत्ता तथा विभिन्न खेल सामग्री उत्पादन गर्दै आएको छ। सुदूरपश्चिम रोयल्ससँगको साझेदारीमार्फत ब्रान्डले नेपाली क्रिकेटको बढ्दो लोकप्रियता र खेलप्रतिको उत्साहसँग जोडिने अवसर पाएको छ।
लोटो स्पोर्टले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटले सिर्जना गरेको जोश, ऊर्जा र खेलभावनाको हिस्सा बन्न आफू उत्साहित रहेको जनाएको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले लोटो स्पोर्टसँगको साझेदारीले टोलीको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार अन्तर्राष्ट्रिय खेलकुद ब्रान्डसँगको सहकार्यले खेलाडीको प्रदर्शनसँगै टोलीको पहिचान र व्यावसायिक प्रस्तुतिलाई समेत थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। साथै, यस साझेदारीले नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँग जोडिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
लोटो स्पोर्टले पनि सुदूरपश्चिम रोयल्सको यात्रामा सहकार्य गर्न पाउनु गर्वको विषय भएको जनाएको छ।
यस साझेदारीसँगै एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको खेलकुद पोसाक तथा टोलीको व्यावसायिक पहिचानमा लोटो स्पोर्ट जोडिने भएको छ।


