गनन्जय–शेखरको जोडी बन्यो होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौं, असोज २४। गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिताको च्याम्पियन बनेको छ। शनिबार बालकुमारीस्थित होप्स टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा गनन्जय र शेखरको जोडीले रिभान वज्राचार्य र रिजान शाक्यको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।

रोमाञ्चक फाइनलमा गनन्जय र शेखरले ५–११, ११–८, ११–३, ३–११ र १२–१० को सेटमा जित निकाले। २०औँ एसियाली खेलकुदमा सहभागिता जनाइसकेका गनन्जयका जोडीदार शेखर ६८ वर्षका हुन्।

खेलप्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको विजेता जोडीले ४० हजार रुपैयाँ र उपविजेता जोडीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। विजेता खेलाडीलाई मुख्य प्रायोजक खड्गीले पुरस्कार प्रदान गरे।

विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित एकदिने प्रतियोगितामा ४० जोडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा पुरुष–पुरुष वा पुरुष–महिलाको जोडी बनाएर सहभागी हुन पाउने व्यवस्था थियो। प्रतियोगिता डबल्स विधामा मात्रै सञ्चालन गरिएको थियो।

टेबलटेनिस परिवारलाई एकै ठाउँमा भेला गराउँदै विभिन्न उमेर समूहका खेलाडीलाई एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा नौपटककी राष्ट्रिय च्याम्पियन तथा एसियाली खेलकुदमा लगातार पाँचपटक सहभागी नविता श्रेष्ठ, राष्ट्रिय च्याम्पियन संयोग कपाली, राष्ट्रिय टेबलटेनिसका वर्तमान उपविजेता एलेक्स महर्जनसहित भेट्रान तथा उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यसैबीच, शनिबार नै मुख्य प्रायोजक सुमन खड्गीले होप्स टेबलटेनिस एकेडेमीको औपचारिक उद्घाटन गरेका छन्। करिब ५० लाख रुपैयाँ लगानीमा आईटीटीएफ लेभल–२ प्रशिक्षक प्रज्ज्वल श्रेष्ठले सञ्चालनमा ल्याएको एकेडेमीमा हाल ३० जना प्रशिक्षार्थी रहेका छन्। एकेडेमीका लागि आवश्यक टेबल र म्याट लिनिङले प्रायोजन गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ