जनशक्ति सामुदायिक वनको २८औँ साधारणसभा सम्पन्न, वन संरक्षण र उपभोक्ताको हितमा जोड
बालकृष्ण थापा क्षेत्री
वनघुस्री, दाङ, असोज २४ गते।
दाङको गढवा गाउँपालिका–१, वनघुस्रीमा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा वनको वार्षिक प्रगति समीक्षा, आयव्यय विवरण, कार्ययोजना नवीकरण, वन संरक्षण तथा उपभोक्ताले भोगिरहेका समस्याबारे छलफल गरिएको छ।
जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुमबहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबडिभिजन वन कार्यालय कालाकाटेका प्रमुख यम गैरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, गढवाका अध्यक्ष तथा कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्मा, गढवा गाउँपालिका–१ का वडा सदस्य तथा कुलपानी सामुदायिक वनकी सचिव दिलबसी विक, जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष चित्रबहादुर महतारा क्षेत्रीलगायत विभिन्न सामुदायिक वनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो।
कार्यक्रमको सुरुवातमा समूहका उपाध्यक्ष भक्तबहादुर कुमालले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी अतिथि, उपभोक्ता तथा सरोकारवालालाई स्वागत गर्नुभएको थियो।

साधारणसभामा अध्यक्ष खुमबहादुर गाहा मगरले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण, व्यवस्थापन, कार्ययोजना नवीकरण तथा उपभोक्ताले भोगिरहेका विभिन्न समस्याबारे धारणा राख्नुभएको थियो। उहाँले सामुदायिक वनको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको आवश्यकता तथा हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको थियो।
सभामा समूहले गत आर्थिक वर्षमा सञ्चालन गरेका गतिविधि, वनबाट प्राप्त आम्दानी, भएको खर्च तथा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित कार्यक्रमबारे जानकारी गराइएको थियो। वनको दिगो संरक्षण, वन पैदावारको उचित सदुपयोग, आर्थिक पारदर्शिता र सामुदायिक विकासका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि यम गैरेले सामुदायिक वनको संरक्षणसँगै वनबाट प्राप्त आम्दानीलाई समुदायको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो। वनको दिगो व्यवस्थापन, पारदर्शी आर्थिक प्रणाली र योजनाबद्ध कार्यक्रम सञ्चालनले उपभोक्ताको हितमा योगदान पुर्याउने उहाँको भनाइ थियो।

सामुदायिक वन समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको विषय पनि साधारणसभामा उठाइएको थियो। समयानुकूल कार्ययोजना नवीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके वन संरक्षणसँगै स्थानीय समुदायको आवश्यकता सम्बोधन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साधारणसभाका अवसरमा खुरुरिया, वनघुस्री र वनबारी क्षेत्रका ज्येष्ठ नागरिक महिलाहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा स्थानीय फुटबल क्लबलाई आर्थिक र जिन्सी सहयोगसमेत प्रदान गरिएको थियो। वन संरक्षणसँगै शिक्षा, खेलकुद र सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले गरिएको सहयोगले सामुदायिक वनको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।
कार्यक्रममा सामुदायिक वनका संस्थापक तथा पूर्वअध्यक्ष, वर्तमान कार्यसमितिका पदाधिकारी, वन कर्मचारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।
साधारणसभाले वनको दिगो व्यवस्थापन, आर्थिक पारदर्शिता, कार्ययोजना नवीकरण र उपभोक्ताका समस्यालाई सम्बोधन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएको छ।



