उमा कुङफुद्वारा विश्व ताइची तथा छिगोङ दिवस भव्य रूपमा मनाइयो

काठमाडौं, बैशाख १२
काठमाडौं । नेपालमा पनि विश्व ताइची तथा छिगोङ दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ। नेपाल उमा कुङफु संघले हरेक वर्षझै यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो।


बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन नगरपालिकाकी उपमेयर अनिता लामाले गरिन्। बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा २५० भन्दा बढीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।


कार्यक्रममा बूढानीलकण्ठ लायन ड्रागन एसोसिएसनका खेलाडीहरूले आकर्षक लायन डान्स प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध पारे। त्यसैगरी सहभागी खेलाडीहरूले छिगोङ, ताइची २४ फर्म, ताइची स्वोर्ड तथा ताइची ४२ फर्मका कलात्मक प्रदर्शन प्रस्तुत गरेका थिए। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार यस्ता अभ्यासहरूले शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।


दिवसको अवसरमा ताइची तथा छिगोङ क्षेत्रका सक्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। शंखपार्क ताइची तथा छिगोङ क्लबका चन्द्रबहादुर शाह, हरिकुमार कार्की र श्यामप्रसाद गौतम तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ का सदस्य एवं पूर्व फुटबलर विकास तामाङलाई सम्मान गरिएको हो।


यसैगरी कराते खेलाडी जनकसिंह खड्का र अन्नपूर्ण पोष्टका खेलकुद पत्रकार विष्णु थापालाई नेपाल उमा कुङफु संघको मानार्थ सदस्यता प्रदान गरिएको थियो।


कार्यक्रममा चीन कल्चर सेन्टरका डेपुटी डाइरेक्टर लिउ झान्पिङ, वडा नं. ३ का अध्यक्ष आकाश धिताल, संघका उपाध्यक्षहरू भूपेन्द्र गुरुङ, रमेश महर्जन, उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमन लामा लगायत विभिन्न क्लब तथा विद्यालयका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


विश्वभर एकै दिन मनाइने विश्व ताइची तथा छिगोङ दिवसले स्वास्थ्य, ध्यान र शारीरिक सन्तुलनप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ