१२औं सिटिजन्स बैंक खुला टेनिस: प्रदीप र आयुशमान सेमिफाइनलमा

काठमाडौं, बैशाख १७
१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फ प्रदीप खड्का र आयुशमान हजुर घले सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुधबार सम्पन्न क्वार्टरफाइनलमा प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। आयुशमानले भने निहालजंगबहादुर थापाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ६–३, ४–६ र ६–३ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरे।

सोही स्पर्धामा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–१ र ६–१ ले हराए भने दर्शिल श्रेष्ठले प्रणव खनाललाई ३–६, ६–३ र ६–४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रितम परियारको जोडीले निहालजंगबहादुर थापा र प्रणव मानन्धरको जोडीलाई ६–३, १–६ र ७–५ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। त्यस्तै, प्रणव खनाल र आयुशमान हजुर घलेको जोडीले राजवीर प्रधान र उगेन शेर्पाको जोडीलाई ६–३ र ६–२ ले हराउँदै उपाधि नजिक पुगेका छन्।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सतर्फ पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारसहित भीष्मजंग गुरुङ, सन्तोष खत्री र दावा सोनाम शेर्पा सेमिफाइनलमा पुगेका छन्। सोही उमेर समूहको डबल्समा भीष्मजंग गुरुङ–गगन महर्जन, निरज रेग्मी–इश्वर जिसी, सन्तोष खत्री–जुजुमन किम तथा जितेन्द्र परियार–छेवाङ लामा जोडीले अन्तिम चारमा स्थान बनाएका छन्।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, उत्तम बोगटी, मच्छिन्द्र थापा र विमलकुमार गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन्। सोही स्पर्धाको डबल्समा चन्द्र शाही–सोभित श्रेष्ठ, सागर केसी–निरञ्जनकुमार श्रेष्ठ, धर्म शाही–आशिष सिग्देल तथा मनु त्रिपाठी–पृथ्वीमान गुरुङको जोडी सेमिफाइनलमा पुगेका छन्।

त्यसैगरी, ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, देव क्षेत्री, अमितसिंह गुरुङ र रोहित सुनुवार अन्तिम चारमा पुगेका छन् भने ७० वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार र धीरबहादुर गुरुङले फाइनलमा स्थान पक्का गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ