हेराल्ड र सीसीआरसी विजयी, ब्वाइजतर्फ दोस्रो चरणमा प्रवेश
काठमाडौं, साउन १९ – हेराल्ड इन्टरनेसनल कलेज र सीसीआरसीले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी सुरुआत गरेका छन्।
टोखा–स्थित साइबाबा चोकमा रहेको प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा सोमबार सम्पन्न खेलमा हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ अंकले पराजित गर्यो। विजयी टोलीका डेविड राईले १२ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।

अर्को खेलमा सीसीआरसीले न्युटन कलेजलाई ४८–३४ अंकले हरायो। सीसीआरसीका रोहन महतले सर्वाधिक १८ अंक स्कोर गर्दै टोलीलाई सहज जित दिलाए।
ब्वाइजतर्फकै अन्य खेलमा जेभियर इन्टरनेसनल कलेजले एलआरआईलाई ६४–५०, गोल्डेनगेट इन्टरनेसनल कलेजले सत्य साईलाई ४४–३२ तथा मनास्लु कलेजले निम्सलाई ६७–५२ अंकले पराजित गरे। जेभियरका रोशन नगरकोटीले १८, गोल्डेनगेटका नेल्सन श्रेष्ठले १९ तथा मनास्लुका सिद कार्कीले १२ अंक जोडे।
यता, गल्र्सतर्फ एलआरआईले जेभियर ‘बी’ लाई ३०–१९ अंकले हरायो। एलआरआईकी लुनिभा सिंहले १४ अंक जोडिन्। अर्को खेलमा गोल्डेनगेटले जेभियर ‘ए’ लाई ३४–२६ अंकले पराजित गर्दा एन्जल गुप्ताले १० अंकको योगदान दिइन्।


