सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल
धनगढी असोज २३ गते।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले डडेल्धुराका बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।
सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टमार्फत थलाललाई टोलीको आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो। उनी यसअघि पनि सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका छन्। यसपटक भने उनले एनपीएलको तेस्रो संस्करणमा आइकोनिक खेलाडीका रूपमा अवसर पाएका हुन्।
स्थानीय क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सुदूरपश्चिमका नौ जिल्लामा ट्यालेन्ट हन्ट आयोजना गरिएको थियो। असोज १४ गते बैतडीको दिलासैनीबाट सुरु भएको छनोट कार्यक्रम दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरसम्म सञ्चालन गरिएको थियो।

ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढीस्थित धनगढी ओभलमा आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट विभिन्न जिल्लाका प्रतिभाशाली खेलाडीलाई छनोट गरिएको हो।
यसैगरी, ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा छनोट गरिएको छ।
छनोट भएका यी छ खेलाडी सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन्। ट्यालेन्ट हन्टमार्फत स्थानीय खेलाडीलाई अवसर दिँदै क्षेत्रीय क्रिकेटको विकास र नयाँ प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य टोलीले राखेको छ।


