हिमाल सुनारी मगर पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बेसडर नियुक्त

काठमाडौं, असोज २३ गते।

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी तथा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर्स किंग्सका कप्तान हिमाल सुनारी मगर पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बेसडर नियुक्त भएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले बिहीबार हिमाललाई स्पोर्ट्स एम्बेसडर नियुक्त गरेको हो। नियुक्तिसम्बन्धी सम्झौतामा पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहोनी र हिमालले हस्ताक्षर गरेका छन्।

मिडल ब्लकरको भूमिकामा खेल्दै आएका हिमालले एनभीएलको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर्स किंग्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्व र मैदानमा गरेको प्रदर्शनले उनलाई नेपाली घरेलु भलिबलका उदाउँदा खेलाडीमध्ये स्थापित गराएको छ।

पोखरा एभेन्जर्सले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट र भलिबलका दुई फ्रेन्चाइज टोलीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले हिमाललाई एम्बेसडर नियुक्त गरेको जनाएको छ। ‘टु टिम्स, वान ड्रिम’ अभियानअन्तर्गत पोखरा एभेन्जर्स र अन्नपूर्ण स्पाइकर्स किंग्सबीच सहकार्य अघि बढाइएको हो।

पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहोनीले एउटै सहर र प्रदेशको प्रतिनिधित्व गर्ने फरक खेलका टोलीबीच आपसी सहयोग र सहकार्य बढाउने उद्देश्यले हिमालसँग सहकार्य गरिएको बताए। यसबाट पोखरा र गण्डकी प्रदेशको खेलकुदलाई थप मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

हिमालले हालै पाकिस्तानमा आयोजित काभा पुरुष भलिबल च्याम्पियनसिपबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। घरेलु प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आएका उनी छोटो समयमै राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीका रूपमा अघि बढेका छन्।

स्पोर्ट्स एम्बेसडरका रूपमा हिमालले पोखरा एभेन्जर्सको ब्रान्ड प्रवर्द्धन, समर्थकसँगको सम्बन्ध विस्तार तथा क्रिकेट र भलिबलबीच सहकार्य बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैबीच, एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सले प्रशिक्षण सुरु गरिसकेको छ। टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई निरन्तरता दिएको छ।

अक्सनमार्फत टोलीमा अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई समावेश गरिएको छ। विदेशी खेलाडीका रूपमा बंगलादेशका अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको पोखरा एभेन्जर्सले श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षानलाई लगातार दोस्रो सिजनका लागि टोलीमा राखेको छ।

श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी अजन्था मेन्डिसलाई टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। नेपाल आइसकेका मेन्डिसले टोलीसँग प्रशिक्षणसमेत सुरु गरिसकेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ