रामारोशन स्काइ रन असार ३ गते अछाममा हुँदै, विजेतालाई १ लाख रुपैयाँ पुरस्कार
काठमाडौं, २०८३ जेठ २० गते
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित रमणीय पर्यटकीय क्षेत्र रामारोशनमा आगामी असार ३ गते ‘रामारोशन स्काइ रन’ आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय स्तरको स्काइ रनिङ प्रतियोगिताको अभ्यास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा अधिकतम १०० खेलाडीलाई सहभागी गराइने आयोजकले जनाएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष एकेन्द्र कुँवरले प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको जानकारी दिए। उनका अनुसार सुरुआतमै नाम दर्ता गर्ने ३० जना खेलाडीलाई यातायात, आवास तथा खानाको व्यवस्था गरिनेछ भने अन्य सहभागीलाई आवास र खानाको सुविधा उपलब्ध गराइनेछ।

२८ किलोमिटरको चुनौतीपूर्ण दौड
प्रतियोगिता २८ किलोमिटर दूरीको हुनेछ। दौड अछामको रामारोशन गाउँपालिकास्थित रामेखण्ड (२,१५० मिटर उचाइ) बाट सुरु भई जिइगले ताल, लामादह ताल, रोशन पाटन, चांखापाट (३,८२० मिटर उचाइ), किनिमिनीपाटन हुँदै पुनः रामेखण्डमा आएर समाप्त हुनेछ।
दौड मार्गमा खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै ६ वटा वाटर प्वाइन्ट र ६ वटा चेक प्वाइन्ट स्थापना गरिने आयोजकले जनाएको छ। प्राकृतिक सौन्दर्य र उच्च हिमाली भू–भाग समेटिएको यो मार्ग स्काइ रनिङका लागि उपयुक्त मानिन्छ।
शीर्ष तीनलाई आकर्षक नगद पुरस्कार
पुरुष तथा महिला दुवै समूहमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन खेलाडीले क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै शीर्ष १० स्थानभित्र दौड पूरा गर्ने खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय प्रतिभाका लागि यु–२० दौड
स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यु–२० उमेर समूहका पुरुष तथा महिलाका लागि ५ किलोमिटर दूरीको छुट्टै दौडसमेत आयोजना गरिनेछ।
यस समूहमा प्रथम हुनेले २० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ तथा तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
४० लाख रुपैयाँ खर्च अनुमान
महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताले अछामको रामारोशन क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै साहसिक खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विश्व स्काइ रन च्याम्पियनसिपको तयारी
पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले नेपालले विश्व स्काइ रन च्याम्पियनसिप आयोजना गर्न औपचारिक दाबी प्रस्तुत गरिसकेको जानकारी दिँदै रामारोशन स्काइ रन त्यसको पूर्वतयारी तथा अभ्यासका रूपमा महत्वपूर्ण हुने बताए।
उनले नेपालका हिमाली तथा पहाडी भू–भाग स्काइ रनिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साहसिक पर्यटन र खेलकुदको पहिचान थप सशक्त बनाउने विश्वास व्यक्त गरे।


