बिटीएफडब्लुद्वारा अन्तर्राष्ट्रिय एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित
काठमाडौं, २५ वैशाख २०८३
नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी युकी आङदेम्बे लाई अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको ऐतिहासिक सफलताको सम्मानस्वरूप ब्रदर्स देयर फर वि (बीटीएफडब्लु) ले नगदसहित सम्मान गरेको छ।
बीटीएफडब्लुले बिहीबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा युकीलाई सम्मानपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान जनाएको हो।
युकीले हालै भारतमा सम्पन्न ‘मेट्रिक्स फाइट नाइट (एमएफएन)–१८’ मा भारतीय खेलाडी मन्दिप प्रजापती लाई पराजित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उचो बनाएका थिए। उनले पहिलो राउण्डमै सबमिसनमार्फत प्रभावशाली जित हात पारेका थिए।
संस्थाका अनुसार युकीको जित मात्र नभई उनको संघर्ष, अनुशासन, समर्पण तथा नेपाली युवामाझ उनले दिएको प्रेरणाको कदरस्वरूप सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ परामर्शदाता तथा प्रोफेसर अर्थो/ट्रमा सर्जन डा. बुलन्द थापा, बीटीएफडब्लुका अध्यक्ष कुशल भण्डारी तथा सह–संस्थापक अनिता ठकुरी लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै डा. बुलन्द थापाले एमएमएलाई सम्मानित र चुनौतीपूर्ण खेलका रूपमा व्याख्या गर्दै युवावस्थामा आफूलाई पनि बक्सिङप्रति रुचि रहेको उल्लेख गरे। उनले युकीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न सफल भएको भन्दै बधाई व्यक्त गरे। साथै बीटीएफडब्लुले सामाजिक क्षेत्रमा गरिरहेको कार्यको प्रशंसा गर्दै संस्थालाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिएका थिए।
सम्मान ग्रहणपछि युकी आङदेम्बेले बीटीएफडब्लुले आफूलाई निरन्तर साथ र समर्थन गर्दै आएको उल्लेख गर्दै सम्मानित हुन पाउँदा खुशी लागेको बताए। उनले एमएमए खेल नेपाली युवाका लागि व्यावसायिक सम्भावना बोकेको क्षेत्र बन्दै गएको धारणा राख्दै नयाँ खेलाडीलाई आफ्नो लक्ष्य र प्यासन पछ्याउन आग्रह गरे।

हाल अष्ट्रेलियामा रहेका बीटीएफडब्लुका संस्थापक बिपिन कार्की ले भिडियो सन्देशमार्फत कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए। उनले बीटीएफडब्लुको यात्रा केवल सुरुवात मात्र भएको उल्लेख गर्दै संस्थालाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए। साथै मानसिक स्वास्थ्य सचेतना, राष्ट्रिय खेलाडीको सहयोग तथा पशु उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
सह–संस्थापक अनिता ठकुरीले संस्थाको उद्देश्य, सामाजिक अभियान तथा भावी योजनाबारे जानकारी दिँदै बीटीएफडब्लुले मानसिक स्वास्थ्य सचेतना, युवाशक्ति सशक्तिकरण, राष्ट्रिय खेलाडीको सहयोग तथा पशु उद्धार अभियानमा निरन्तर काम गरिरहेको बताइन्।
कार्यक्रममा नेपाल एडभेन्चर रनिङ फेडेरेशन का अध्यक्ष एकेन्द्र बहादुर कुँवर, नेपाल अटोमोबाइल्स एसोसिएसन का कार्यकारी निर्देशक तथा अल्पाइन स्पोर्ट्स फेडेरेशन का अध्यक्ष गोविन्द भट्टराई, नासा नेपाल फाइनान्स एण्ड कर्पोरेट कमिसनका सजिब भट्टराई तथा समाजसेवी मच्छिन्द्र राज शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा युकी आङदेम्बेले भारतका मन्दिप प्रजापतीलाई पराजित गरेको एमएफएन खेलको भिडियो समेत प्रदर्शन गरिएको थियो।


