पब्जी मोबाइल ग्लोबल ओपनमा नेपालका दुई टोली छनोट

काठमाडौं, असोज ५ गते ।

नेपालका दुई ई–स्पोर्ट्स टोली पब्जी मोबाइल ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थान हासिल गर्दै ट्रेन टू किल (टीटूके) र होरा ई–स्पोर्ट्स ग्लोबल ओपनका लागि छनोट भएका हुन् ।

ई–स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको आयोजनामा चार दिनसम्म सञ्चालन भएको क्षेत्रीय छनोटमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेको टीटूकेले १ सय ८८ अंक जोड्दै दोस्रो तथा होरा ई–स्पोर्ट्सले १ सय ७५ अंकसहित तेस्रो स्थान हासिल गर्‍यो ।

नेपालकै अर्को टोली एचएलएक्स चौथो स्थानमा रहे पनि ग्लोबल ओपनमा स्थान बनाउन सकेन । पाकिस्तानको फोर थ्रिभ्स १ सय ९४ अंकसहित पहिलो हुँदै ग्लोबल ओपनका लागि छनोट भयो ।

प्रतियोगिताको विजेता फोर थ्रिभ्सले ९ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता टीटूकेले ५ हजार ५ सय तथा तेस्रो भएको होरा ई–स्पोर्ट्सले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरे ।

विजेता टोली तथा खेलाडीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमबिक्रम केसीले पुरस्कार प्रदान गरे ।

चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको टिकट बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रममा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

ईशानका सचिव आशिष दाहालले काठमाडौंमा सम्पन्न पीएमजीओ साउथ एसिया प्रतियोगिता दक्षिण एसियाकै उत्कृष्ट ल्यान इभेन्टमध्ये एक भएको बताए । समापन समारोहमा उनले नेपालमा अझ ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्न संघले पहल गरिरहेको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ